
काठमाडौं । गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन् ।
भक्तपुरको चार वटा नगरापालिका मध्य लम्पी स्किन रोग प्रकोपका कारण सबै भन्दा धेरै प्रभावित बनेको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका हुन् ।
उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका छन् । नगरपालिकाका पशुविकास अधिकृत खड्ककुमार मैनालीका अनुसार गाई भैंसीको मुत्युदर लिखित डाटामा कम भएपनि गाउँ घरमा जाँदा ठूलो संख्यामा रहेको देखिएको छ । उहाँले यो संक्रमणको असर आगामी वर्षमा गाई भैँसीहरुमा गर्भाधारण नभई उल्टी रहने बाँझोपनको समस्या आउन सक्ने भन्दै सचेत हुन आग्रह गर्नुभयो ।
यस्तै, नगरपालिकाभित्र ठूलो संख्यामा गाईको क्षति भएको बताउँदै किसानहरुलाई राहत उपलब्ध गराउने विषयामा प्रदेश सरकार, विज्ञ केन्द्र र पशु सेवा विभागलाई अनुरोध गर्दै पत्र लेखेका जानकारी समेत गराउनु भयो ।
चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदा पशुचौपायाको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले महामारीको नियन्त्रणका लागि घुम्ती सेवा सुचारु गरेको छ । घुम्ती सेवामार्फत किसानलाई परामर्श दिनुका साथै तथ्याङ्क संकलन र निःशुल्क औषधि वितरणको काम भइरहेको छ ।
सोक्रममा चाँगुनारायण नगरपालिका पशुपंक्षी विकास शाखाका डा. सौरभ गैलालले पशुपालन क्षेत्रमा रोग भित्रिन नदिन व्यवस्थापन, प्रजनन, आहरा तथा स्वास्थ्यका क्षेत्रहरूमा असल पशुपालन अभ्यासको विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले लम्पी स्किन रोग लागेका गाई भैंसीको दुध खान हुन्छ वा हुन्न भन्ने किसानहरुको ठूलो प्रश्न रहेको भन्दै ढुक्क भएर खान अनुरोध गर्नुभयो । संक्रमण नियन्त्रणका लागि एन्टिबाइटिक प्रयोग भएको गाई भैंसीमा भने ७ दिनसम्म दुध खान नहुने उहाँको भनाई छ ।
पछिल्लो तथ्यांक अनुसार लम्पीबाट ७७ जिल्ला नै प्रभावित भएको छ भने आठ लाखभन्दा बढी पशु संक्रमित भइसकेका तथा २७ हजारभन्दा बढी पशुको मृत्यु भइसकेको छ । नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार ३८ अर्बभन्दा बढी रुपैयाँको आर्थिक क्षति भइसकेको छ । उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ । हाल भने उक्त महामारी केही हदसम्म कम हुँदै गएको विज्ञहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्