२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैन : अर्थमन्त्री महत


91
Shares

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ ।

बुधबार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाउनुभएको बताउनुभयो । अर्थमन्त्रीले विगतमा भित्र एउटा र बाहिर अर्को हुनेकुरालाई लाइभका कारण रोकिने विश्वास लिएको बताउनुभयो । उहाँले लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताउनुभयो ।

अर्थमन्त्री महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरु बलियो हुनेकुरा केन्द्रिय समितिको बैठमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताउनुभयो । पार्टी नेता बालकृष्ण खाँणको मुद्दाका बारेमा उहाँले कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रामहरि खतिवडाले कांग्रेसमा महिलाको क्रियाशील सदस्य ३३ प्रतिशत नै पुर्‍याउनुपर्ने बताउनु भयो । दलितको १४ प्रतिशत रहेको र त्यही अनुसार सबैको प्रतिनिधित्व गराउनुपर्ने बताउनुभयो । उहाँले केही क्षणका लागि हुने मुद्दामा पार्टी केन्द्रित नहुने बताउनुभयो । उहाँले क्रियाशील सदस्य पार्टीको जग बलियो बनाउनका लागि भएको बताउनुभयो ।

बैठकपछि बोल्दै नेता नैनसिंह महरले कोशी सरकारको नामाकरण र पछिल्लो कोशी प्रदेश सरकार निर्माणको विषयमा उठेका प्रश्नको उत्तर खोज्नुपर्ने कुरा आफूले समितिमा उठाएको बताउनुभयो । उहाँले केन्द्रिय समितिको बैठक लाइभ गरेको विषय राम्रो भएको बताउनुभयो ।

बैठकको लाइभ गर्नाले सूचना प्रशारणमा सहयोग पुगेको बताउनुभयो ।