काठमाडौं, भदौ २२ । संघीय संसदका सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणकाक्रममा शुक्रबार ल्हासा प्रस्थान गरेका छन् ।
भ्रमणकाक्रममा उनी शुक्रबार ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
त्यस्तै, शुक्रबारै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ ।
ल्हासामा रहँदा सभामुख महराले त्यहाँस्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास गर्नेछन् ।
त्यस्तै, उनले ल्हासाबाटै रसुवागढी र तातोपानीस्थित मितेरी पुलको उद्घाटन गर्ने कार्यक्रम छ ।
भ्रमणकाक्रममा सभामुख महराले ‘ट्रान्स हिमालय बेल्ट एन्ड रोड इन्टरनेसनल कोअपरेसन फोरम’को बैठकलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
सभामुख महराको भ्रमण टोलीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद शान्तिमाया तामाङ पाख्रिन, नेपाली कांग्रेसका रङमति शाही, संघीय समाजवादी फोरमका उमाशंकर अरबरिया, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एकवल मियाँ र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी छन् ।
त्यस्तै, संघीय संसद सचिवालयका सचिव भरतराज गौतम र सभामुखको सचिवालयका प्रतिनिधिसमेत भ्रमणमा सहभागी छन् ।
उनी यही भदौ २६ गते स्वेदश फर्कने कार्यक्रम छ । रासस
प्रतिक्रिया दिनुहोस्