Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


अखाद्य सामग्री बिक्री गरेको भन्दै लाजिम्पाटको एक पसललाई एक लाख ५० हजार जरिवाना


1.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य सामाग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा कीरा परेको अन्य खाद्य सामाग्री बिक्री वितरण गरेको पाएपछि निजलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको कामपाको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त पसल सञ्चालक अङ्कुर अग्रवालले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाही स्वरूप जरिवाना तिराएको बताइएको छ ।

कारबाही स्वरूपको उक्त रकम आजको मितिले सात दिनभित्र एनआइसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जम्मा गरी उक्त बैंक भाउचर दोस्रो प्रति कामपामा पेस गर्न आदेशसमेत गरिएको छ ।

तोकिएको समयभित्र जरिवाना स्वरूपको रकम उपलब्ध नभए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने समेत पसल सञ्चालकलाई जानकारी गराइएको छ ।