
काठमाडौं । केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्न प्रदेश गठबन्धनलाई निर्देशन दिएको छ ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रको सत्ता गठबन्धन बैठकले मुख्यमन्त्रीमा आज ५ बजेसम्म नेपाली थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्न निर्देशन दिएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । । कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज ५ बजे सकिँदैछ । विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेस गर्न ५ दिनको समयसीमा दिनुभएको थियो ।
केन्द्रीय गठबन्धनमा सहभागी दलका प्रदेश सांसदहरुको संख्या सभामुख बाबुराम गौतम सहित ४७ पुग्छ । सरकार गठनका लागि आवश्यक संख्या पनि ४७ नै हो । ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०,राप्रपाका ६ जना सांसद रहेका छन् । त्यसैगरी कांग्रेसका २९,माओवादीका सभामुख बाबुराम गौतम सहित १३,नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ जना सांसद छन् । एमालेलाई भने राप्रपाको समर्थन रहेको छ । सभामुख बाहेक दुबै पक्षमा ४६–४६ जना सांसद हुन्छन् । यस्तो अवस्थामा सभामुखदे निर्णायक मत दिन पाउने व्यवस्था छ । तर एमाले र राप्रपाले भने सरकार गठनको दाबी पेस गर्दा सभाभुखले हस्ताक्षर गर्न नपाउने बताईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्