१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


राजस्वको लक्ष्य पूरा गर्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन


182
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीलाई उहाँले उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्नुभयो । उहाँले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न आग्रह गर्नुभयो ।

अर्थमन्त्री महतले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् भन्दै सजग गराउनुभयो । अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम स्रोत जुटाउने भएको भन्दै उहाँले राज्यका आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा अर्थ मन्त्रालय मातहतका कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

राजस्वको दायरा बढाउँछौं भनेर मात्र नहुने भन्दै उहाँले अर्थतन्त्रले गति लिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पुँजीगत खर्च चलायमान बनाउने लक्ष्य राखेको अर्थमन्त्री महतको भनाइ छ ।