Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


स्वदेशी उत्पादनको निर्यात बढाउनुपर्छ : मन्त्री साउद


65
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाल निर्यात व्यवसायी महासंघसँगको भेटमा मन्त्री साउदले यस्तो बताउनुभएको हो । उहाँले स्वदेशी उत्पादनको निर्यात बढाउनका लागि सरकार सहयोग गर्न तयार रहेको भन्दै निजी क्षेत्रले तत्परता देखाउनुपर्ने बताउनुभयो ।

मन्त्री साउदले नेपालले विभिन्न देशबाट बस्तुहरु आयात गरे पनि त्यो अनुसार निर्यात गर्न नसक्दा व्यापार सन्तुलन हुन नसकेको बताउनुभयो । नेपालको उत्पादित वस्तु विदेशमा निर्यात गर्नसके मात्रै मुलुकको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि हुने बताउनुभयो । उहाँले नेपालका उद्योगी व्यवसायीहरुले विदेशबाट सामान आयात गर्ने मात्रै नभएर नेपाली उत्पादन पनि विदेश निर्यात गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री साउदले नेपालको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि गर्नको लागि गुणस्तरीय वस्तु उत्पादन गरी निर्यातमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले अहिले नेपालले आयात गर्ने अधिकांश देशहरुमा व्यापार घाटा रहेको बताउनुभयो । उहाँले निर्यात गर्ने वातावरणमा सरकार र निजी क्षेत्र दुवै लाग्न नसकेको स्वीकार गर्नुभयो ।

मन्त्री साउदले निर्यात प्रवद्र्धन गर्ने निकायले मजबुद हुन नसकेको भन्दै निजी क्षेत्र आफैँ सक्रिय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको अपेक्षा अनुसार परराष्ट्र मन्त्रालयले विभिन्न देशका राजदुतहरुलाई त्यो देशको आवश्यकता हरेर नेपाली उत्पादन निर्यातको सम्भावनाका बारेमा छलफल गरी नेपाली वस्तु निर्यातको वातावरण बनाउन निर्देशन दिनसक्ने बताउनुभयो । उहाँले नेपालले निर्यात बढाउनको लागि मुलुकको प्रणाली परिचालन गर्न नसकिएको बताउनुभयो । उहाँले नेपाल भूपरिवेष्ठत राष्ट्र भएकाले उत्पादित वस्तु महँगो हुने गरेको बताउनुभयो ।

मन्त्री साउदले परराष्ट्र मन्त्रालयले नेपाली वस्तु पुरोप, अमेरिका, अरब लगायतका स्थानहरुमा निर्यातको लागि आवश्यक पहल गर्न तयार रहेको बताउनुभयो । उहाँले निर्यात व्यवसायीहरुले विभिन्न दुतावासहरुसँग सहकार्य गरेर नेपाली वस्तु निर्यातको सम्भावनाको विषयमा छलफल अन्तरक्रिया गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विदेशमा नेपाली वस्तु निर्यातको लागि उनीहरुको चाहना अनुसारको उत्पादन वृद्धि र गुणस्तरीय बनाउन आवश्यक रहेको पनि बताउनुभयो ।