Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


मेडिकल माफियाको चलखेलले गेटामा मेडिकल बनाउने कार्यमा अवरोध सिर्जना भयो : लेखराज भट्ट


494
Shares

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सत्तामा बसेकाहरुको अनिच्छाका कारण गेटामा मेडिकल विश्वविद्यालय बनाउने कार्यमा अवरोध सिर्जना भएको टिप्पणी गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाएपनि सरकार ढलेपछि प्रक्रिया नै रोकिएको बताउँदै उहाँले अहिलेको सरकारको बेवास्ताका कारण समस्या भएको बताउनुभएको हो ।

सोमबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टले एमालेकै अगुवाइमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सर्वदलीय बैठक बसेर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गराउन सफल भएको तर बजेटसम्म आइपुग्दा मन्त्रिपरिषद्को निर्णय नै उल्ट्याउने काम भएकाले खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्रीले प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालय उस्तै हो भनेर दोधारे कुरा गरेको भट्टले आरोप लगाउनुभयो । उहाँले एमाले गेटा मेडिकल विश्वविद्यालय निर्माण गर्नमा प्रष्ट रहेको बताउँदै सरकारले वेवास्ता गरे सदनदेखि सडकसम्म आन्दोलन चर्काउन बाध्य हुने चेतावनी दिनुभयो ।