२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


काठमाडौं महानगरबाट करको दायरमा व्यापक विस्तार, टीसर्ट र झोलामा टाँस्ने स्टिकरमा समेत कर


2.288k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले करको दायरमा ब्यापक विस्तार गरेको छ ।

महानगरपालिकाले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा करको दायर र करका दरमा ब्यापक विस्तार गरेको हो ।

महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर कर तोकेको छ । जस अनुसार घरेलुमा दर्ता भएका हल्का पेय पदार्थका उद्योगहरुले अब वार्षिक ५० हजार रुपैयाँ कर तिर्नु पर्नेछ । त्यस्ता उद्योगको नवीकरण शुल्क दुई हजार तोकिएको छ ।

यस्तै, डिस्टिलरी उद्योगलाई ५० हजार रुपैयाँ, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई पाँच हजार र आयातयोग्य वस्तु तथा व्यवसायलाई १० हजार रुपैयाँ कर तोकिएको छ । मिनरल वाटर उद्योगलाई पाँच हजार, आइसक्रिम उद्योगमा ठूलालाई १० हजार र घरेलुलाई दुई हजार रुपैयाँ कर तोकिएको छ ।

ब्रान्डेड बिस्कुट, पाउरोटी, केक उद्योगलाई १० हजार र घरेलु विस्कुट उद्योगलाई दुई हजार रुपैयाँ कर तोकिएको छ । डेरी उद्योगलाई १० हजार, कुटानी–पिसानी मिललाई पाँच हजार, ब्रान्डेड जुत्ता, चप्पल उद्योगलाई १२ हजार, ब्याग, बेल्ट, पर्सलगायत उद्योगलाई पाँच हजार रुपैयाँ तोकिएको छ ।

ठूला खाद्यान्न उद्योगलाई १० हजार र सानालाई पाँच हजार तथा कार्पेट, गार्मेन्ट, पस्मिना र प्लाष्टिक उद्योगलाई १० हजार तोकिएको छ । कापी, किताब तथा मुद्रण उद्योगका लागि दुई हजारदेखि १२ हजार तोकिएको छ ।

जमिनमुनिको पानी प्रशोधन उद्योगलाई ५० हजार, बोटल तथा जार पानी उद्योगका लागि सात हजार तोकिएको छ । डसना, कुसन बनाउने उद्योगलाई पाँच हजार र हर्बल उद्योगलाई दुई हजार कर लाग्नेछ । खुद्रा किराना पसललाई दुई हजार, थोक किराना पसललाई पाँच हजार, थोक खाद्यान्न बिक्रेतालाई १० हजार, खुद्रा बिक्रेतालाई तीन हजार तोकिएको छ । मौरीपालनमा दुई हजार र कुखुराको चल्ला बिक्री गर्दा तीन हजार कर तिर्नुपर्ने भएको छ ।

फलफूल, जुस तथा तरकारी बेच्ने खुद्रा पसललाई एक हजार, फलफूल तथा तरकारी थोक पसललाई दुई हजार तोकिएको छ । माछा÷मासु, अण्डा खुद्रा बिक्रेताले दुई हजार पाँच सय र थोक बिक्रेताले ६ हजार रुपैयाँ कर तिर्नु पर्ने छ । तरकारी खेती, पशुपक्षी पालनलगायत कृषि कार्यमा दुई हजार, पेट शपलाई थोक पसललाई सात हजार र खुद्रा पसललाई तीन हजार तोकिएको छ ।

पाँचतारे होटललाई एक लाख, चारतारेलाई ८० हजार, तीनतारेलाई ६० हजार, दुईतारेलाई ४० हजार र एकतारे होटललाई २० हजार कर तोकिएको छ । टेलिभिजन प्रसारण कम्पनीलाई पाँच हजार, एफएम स्टेसनलाई एक हजार, अनलाइन सेवालाई दुई हजार, अनलाइन न्यूज पोर्टललाई पाँच सय, राष्ट्रिय पत्रिकालाई दुई हजार, स्थानीय पत्रिकालाई एक हजार र साइबर क्याफेलाई दुई हजार रुपैयाँ कर तोकिएको छ ।

यसैगरी झोला, टीसर्ट वा कुनै सवारीमा स्टिकर टाँसेर गरिने विज्ञापनमा एक सयदेखि पाँच सय रुपैयाँ कर लाग्ने ब्यवस्था गरिएको छ ।