१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


देवानी र फौजदारी संहितामा रहेका त्रुटि सच्याउन आग्रह


0
Shares

काठमाडौं, भदौ २१ । नेपाल पत्रकार महासंघले देवानी र फौजदारी संहिताले प्रेस स्वतन्त्रतालाई खुम्चाएको भन्दै संशोधनको पहल गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ ।

महासंघका पदाधिकारीहरुले बिहीबार सभामुख महरालाई उनकै कार्यकक्षमा पुगी देवानी र फौजदारी संहितामा रहेका त्रुटि सच्याउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानले प्रत्याभूत गरको प्रेस स्वतन्त्रतालाई कतैबाट पनि रोक लगाउन नहुने माग गरे ।

स्वतन्त्ररुपमा लेख्न, श्रव्यदृष्य सामग्री प्रकाशन/प्रसारण गर्न पाउने अधिकारलाइ कुन्ठित पार्न खोजेकाले फौजदारी संहितामा रहेका प्रावधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

महासंघका महासचिव रमेश विष्टले पत्रकारलाई सरकारवादी मुद्दा लगाउनसक्ने गरी ऐन बनाइएकाले यसलाई देवानी संहितामा राख्न माग गरे ।

ज्ञापनपत्र बुझ्दै सभामुख महराले विभागीय मन्त्रीलाई नै यसबारे ध्यानाकर्षण गराउन सुझाव दिए ।

नयाँ मुलुकी संहिताले प्रेस स्वतन्त्रतालाई खुम्च्याएको भन्दै सन्चारकर्मीहरुले यसमा संशोधनको माग गर्दै आएका छन् ।