Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


किसानको असन्तुष्टि पोख्ने माध्यम बन्यो रातो गोलभेँडा


884
Shares

काठमाडौं । एकातिर प्याज र आलुको भाउ आकासिएका बेला गोलभेडाले बजार नपाएको भन्दै किसानले कालीमाटीस्थित तरकारी बजारमा गोलभेँडा फालेर विरोध जनाएका छन । दैनिक ६० देखि ७० टन खपत हुने दैनिक उपभोग्य वस्तुको बजारमा पछिल्लो समय अत्यधिक गोलभेँडा ल्याइँदा गोलभेँडाले बजार नपाएको हो । हाल सानो गोलभेँडाको बजार मूल्य २० देखि ३० रुपैयाँ हुँदा किसान भने ८ रुपैयाँमा समेत बिक्री नभएपछि रुष्ट भएका हुन ।

दैनिक उपभोग्य बजारको प्रमुख थोक बिक्री स्थल कालिमाटी सधैंको जस्तो थिएन । ग्राहकसँग मालको मोल लिएर किनवेच हुने ठाउँमा अर्कै आज अर्के थियो । त्यसो त उत्पादित सामानले उचित बजार भाउ नपाएको झोंकमा खाद्यान्न फलफूल सडकमा असरल्ल मिल्काउने नयाँ चलन होइन । आइतबार कालिमाटी बजारमा त्यही देखियो ।

देशभित्रै उत्पादित गोलभेडाले न्यूनतम भाउ नपाएको भन्दै काठमाडौं उपत्यकाको काँठ क्षेत्रका किसान एकाबिहानै आक्रोस पोख्न उत्पादित सामाग्रीसहित त्यहाँ पुगेका थिए । धादिङ, काभ्रे र काठमाडौंमा टनेल फार्मिङ अन्तर्गत उत्पादित गोलभेडाले बजार नपाउँदा उनीहरु यसरी फाल्नुको विकल्प नभएको बताउँछन् । सरकारबाट आफ्नो उत्पादन भएको साामानको उचित मूल्य पाउनुपर्ने किसान टिकाराम बोहोरा बताउनुहुन्छ ।

नेपाली बजारमा हाल पाइने तीन थरिको गोलभेडा मध्ये सानो आकारको गोलभेँडाको उत्पादन बढेका कारण किसानले मूल्य नपाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बुझाई छ । नेपालमा यसखाले गोलभेँडा १२ महिना उत्पादन हुने गरेको यद्यपी भारतमा सस्तो हुन थालेपछि यहाँ आयात हुने गरेका कारण नेपाली किसान मारमा परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठ बताउनुहुन्छ ।

नेपालमा उत्पादित कृषि उपज र दैनिक उपभोग्य वस्तु राख्न पर्याप्त स्टोरको व्यवस्था छैन, न उद्योगधन्दा नै छ । यसबाहेक नेपाली कृषि उत्पादनमा ढंग नपुग्दा बजार मूल्य पाउन कठिन हुने गरेको छ ।

त्यसो त किसानले सरकारलाई दबाब दिन सडकमा गोलभेँडा फालेर विरोध जनाएपछि समितिले किसानसँग वार्ता त गर्‍यो । तर, आफ्नो पीडा बुझ्ने प्रयास नभएको भन्दै किसान थप आक्रोशित बनेका छन् ।

एकातिर बजेटमार्फत सरकारले कृषिकर्ममा लगानी बढाइरहँदा किसान भने उत्पादन सामाग्री सडकमा फालेर आन्दोलनमा उत्रिनु उचित होइन् । किसानले सधैं अपनाउने यसखाले विरोध अन्त्यका लागि प्रभावकारी संयन्त्रमार्फत समाधान खोजिनु अपरिहार्य छ ।