१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


पार्टीको समर्थन पाएपछि टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्रीलाई कांग्रेस सांसद घिमिरेको चेतावनी


3.328k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भूमिका रहेको भन्दै सो भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिएपनि हात लागि शुन्य भएको बताउनु भयो । उहाँले पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिनुभयो । उहाँले मुलुकको बजेटमा सांसदहरुको पनि अधिकार रहेको बताउनु भयो ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद घिमिरेले आफ्नै पार्टीका नेताहरुमाथि पनि विभिन्न प्रश्नहरु तेस्र्याउनु भयो । उहाँले यसैको लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनमा छिरेको हो भनि प्रश्न गर्नुभयो ।

उहाँले कांग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदहरुको पनि भूमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने बताउनु भयो ।
उहाँले बजेट विनियोजनमा असमानता भएको भन्दै यस विषयमा पार्टीका नेताहरु बोल्ने कि नबोल्ने भन्ने प्रश्न गर्नुभयो ।