१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


लेखकहरुले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन : वैरागी काँइला


546
Shares

काठमाडौं । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा)ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताउनुभएको छ ।

मंगलबार गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले यस्तो बताउनुभएको हो ।

उहाँले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्नता रहेको भन्दै पुरस्कारमा कर लगाउनु उचित नभएको बताउनुभयो । उहाँले पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई ऐन बमोजिमको कर लगाउनु राम्रो भएको बताउनुभयो ।

पूर्वकुलपति काँइलाले लेखकले ५० वर्षपछि एक पटक पाउने पुरस्कारमा आयकर काटेर पुरुस्कार दिन नहुने बताउनुभयो । उहाँले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गर्नुभयो । उहाँले अहिलेसम्म आफूले पाएको पुरस्कारमा तोके बमोजिम नै पुरस्कार पाएको भन्दै पुरस्कार दिने संस्थानहरुले अब विचार गर्नुपर्ने बताउनुभयो ।

पूर्वकुलपति काँइलाले पुरस्कार घोषणा भए बमोजिमको पुरस्कार पाउनुपर्ने बताउनुभयो । उहाँले अब सरकारलाई लेखकहरुले कर १५ वा २५ प्रतिशत कति तिर्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काट्ने गरेको बताउनुभयो । उहाँले यो अवस्थाबाट आम नेपाली लेखकहरु पीडित रहेको बताउनुभयो । उहाँले नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन सकिन्न भन्ने थाहा पाएर कतै गुनासो नगरेको बताउनुभयो ।

मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ । गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ । मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ ।