Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


नदिमा पुल बनेपछि पाल्पाका बोटे समुदायको आम्दानीको स्रोत नै बन्द


2.1k
Shares

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित दैलातुङ्ग र दर्पुक गाउँका सिमान्तकृत बोटे समुदाय घाम पानी नछेक्ने झुपडी घरमा बस्न बाध्य छन् ।

आर्थिक अवस्था कमजोर भएका उनीहरुको आम्दानीको मुुख्य स्रोत डुंगा तार्ने र माछा मार्ने हो । कालीगण्डकी नदिमा पुल नबन्दासम्म डुंगा तार्ने र माछा मारेर जिविकोपार्जन गर्दै आएका बोटे समुदायको अहिले नदीमा पुल बनेपछि आम्दानीको स्रोत नै बन्द भएको छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट झण्डै १५ किलोमिटर उत्तरमा रहेको खानीगाउँको दैलातुङ्ग र यम्घाको दर्पुकमा सीमान्तकृत बोटे समुदायको बसोवास छ । दैलातुङ्गमा बोटे समुदायको ३२ घर छन् भने दर्पुकमा ८० घर । तर, अधिकांशको आफ्नो घर छैन् ।

कालीगण्डकी नदी किनारमा डुंगा तार्ने र माछा मारेर गुजार चलाउँदै आएको यो समुदाय अहिले दुवै काम ठप्प भएपछि समस्यामा परेका छन् । झुपडीमा लालबालासँगै रहेका उनीहरुका लागि न नयाँ काम पाइन्छ न त परम्परागत रुपमा गर्दै आएको काम नै छ ।

आफ्नो घर नभएका उनीहरुले जनता आवास कार्यक्रममार्फत घरवासको जोहो गरिदिन स्थानीय सरकासँग माग गरेका छन् । वर्षायाम सुरु हुन लागेकाले आफुहरु चुहिने छानोमुनि रात कटाउन बाध्य भएको भन्दै सरकारसँग गुहार मागेका हुन् । हरेक निर्वाचनमा घर बनाइदिने आश्वासन पाएपनि आफूहरुको घर अहिलेसम्म नबनेको बोटे समुदायका अगुवाहरु बताउँछन् ।

दर्पुक र दैलातुङ्गका ५५ घर परिवार घरवासविहीन छन् । आर्थिक वर्ष २०७६/०७७ मा लुम्बिनी प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत ८ घर निर्माण गरिदिए पनि त्यो पर्याप्त छैन । बजेट अभावले तत्कालिन समयमा सबैको घर बन्न नसकेकाले आगामी वर्ष बाँकी घर बनाउन सुरु गर्ने आश्वासन पाएको भएपनि अहिलेसम्म सुरसार नहुँदा यस वर्षको वर्षायाम पनि चुहिने घरबाटै काट्नुपर्ने होकि भन्ने चिन्तामा रहेको गजबीर बोटे बताउनुहुन्छ ।

सरकारले सिमान्तकृत बोटे समुदायको घर बनाइदिने र रोजगारीको प्रवन्ध मिलाइदिन सके झुपडीमा रात काट्न बाध्य उनीहरुलाई गाउँ–गाउँमा सिहंदरबार पुुगेको अनुुभूति हुुने थियो ।