
काठमाडौं । नेकपा (एमाले) का सांसद रघुविर महासेठले फाष्ट ट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत बजेट पठाउनुपर्ने बताउनुभएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले फास्ट ट्रयाक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत बजेट जाने गरेपनि मन्त्रालयको अन्य कुनै भुमिका नभएको भन्दै यसमा पुनःविचार गर्नुपर्ने बताउनुभएको हो । उहाँले भौतिक पूर्वाधार मन्त्रालयले अनुगमन गरी सही वा गलत भनि टिकाटिप्पणी समेत गर्न नपाउने भन्दै यसको आर्थिक जिम्मेवारी रक्षा मन्त्रालयमार्फत नै हुनुपर्ने धारणा राख्नुभएको हो ।
त्यस्तै फास्ट ट्रयाक नेपाली सेनाले बनाउन सक्छ कि सक्दैन भन्ने विषयमा पनि छलफल आवश्यक रहेकाले सत्तापक्ष र प्रतिपक्षले यस विषयमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सार्वजनिक खरिद ऐनको संशोधन गर्नुपर्ने बताउनु भयो । त्यस्तै उहाँले नागरिकता विधेयक सम्बन्धी छलफल गर्दै गरेपनि जन्मसिद्ध नागरिकको छोराछोरीलाई नागरिकता दिनेगरी एउटा विधेयक ल्याउन सरकारसँग माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्