काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र एफसीले अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबबसँग २–१ ले पराजित भएको छ ।
च्यासल रंगशालमा भएको खेलमा मोसेस ट्वामले दोस्रो हाफमा दुई गोल गरेपछि पुलिसले मछिन्द्रमाथि पुनरागमन जित निकालेको हो ।
आफिज ओलावाले २७औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए पनि कायम राख्न सकेन । यो हारले मछिन्द्रको लगातार तेस्रो पटक लिग जित्दै उपाधिमा ह्याट्रिक गर्ने योजनामा ठूलो धक्का लागेको छ भने शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडलाई फाइदा पुगेको छ ।
मछिन्द्रमाथि ५ अंकको अग्रता कायम राखेको चर्च ब्वाइजले अब बाँकी दुई मध्ये एक खेल जिते स्वत च्याम्पियन हुने छ । २४ खेलबाट चर्च ब्वाइजको ४४ अंक छ । समान खेलबाट मछिन्द्रको ३९ अंक छ । पुलिसले पनि मछिन्द्रलाई हराएपछि तेस्रो स्थानको जावालखेल युथ क्लबको समान ३७ अंक जोडेको छ र शीर्ष तीनमा लिग सकाउने सम्भावना बलियो बनाएको छ । आजै भएको अर्को खेलमा संकटा क्लबले खुमलटारमाथि सहज जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा संकटाले एफसी खुमलटारलाई ३–० गोल अन्तरले हराएको हो । जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा छ ।
आजै भएको अर्को खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एनआरटी र हिमालयनले १–१ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ । हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्