
काठमाडौं । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा पहिलो चरणमा दुई लेन कालोपत्र गर्न सुरू गरिएको छ ।
‘पहिलो चरणको परीक्षण सकिएपछि कालोपत्र सुरु गरेका हौँ, कालोपत्र गर्दै जाने हो, यति नै गर्नेछौँ भन्ने छैन, माटोअनुसारको कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै कालोपत्र गर्नेछौं,’ प्रमुख सुवेदीले भन्नुभयो ।
चालु आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्ने गरी कालोपत्र गर्न थालिएको उहाँले बताउनुभयो ।
‘यातायात आवागमनलाई सहजताका लागि पहिलो चरणमा दुई लेन कालोपत्र गरिन्छ, त्यसपछि अर्कोतर्फको सडकमा कालोपत्र गरिन्छ,’ सुवेदीले भन्नुभयो ।
यस खण्डमा सडक विस्तारअन्तर्गत सत्रसय क्षेत्रमा कालोपत्र र अन्य क्षेत्रमा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो कटान तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।
सुवेदीले भन्नुभयो, निर्धारित समयमा पूरा गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौं, निर्धारित समयमा सडक निर्माणको काम सम्पन्न गरी सर्वसाधारणलाई सहज बनाउन प्रतिवद्ध छौं, अब सडक विस्तारअन्तर्गत सम्याउने र यसलाई क्रमिक रूपमा कालोपत्र गर्नेछौं ।
मापदण्डलगायत सबै पुगेका क्षेत्रमा यससँगै कालोपत्र गर्दै काम सम्पन्न गर्ने उहाँले बताउनुभयो ।
पूर्वी खण्डको निर्माणका लागि २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । करिब ४१.४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद २०८१ बैशाखसम्म रहेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ मा सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरू भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको म्याद २०८१ भदौसम्म रहेको छ । २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्य तीव्रताका साथ भइरहेको छ ।
पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ। सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक निर्माण हुने छ ।
सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक निर्माण हुने छ । दुलेगौंडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडक विस्तारका क्रममा धुलो हुँदा स्थानीयले समय(समयमा पानी हाली सहज बनाउनसमेत माग गर्दै आएका छन् ।
सडक विस्तारबाट हुने प्रदुषणको व्यवस्थापन गर्न वा निराकरणकै लागि पनि पानी हाली सहजता कायम गर्न उनीहरूले माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्