
ललितपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दुध दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले दुग्ध विकास बोर्ड खारेज गर्ने सरकारको तयारी भएपनि बोर्डलाई पुनःसंरचना गर्ने वा बोर्ड नै कायम राखेर मन्त्रालयले काम गर्ने विषयमा छलफल गरेर टुंग्याउने बताउनु भयो । मन्त्री भुुसालले बोर्ड खारेजको विषयमा सरोकारवाला निकायहरुबीच छलफल र सहकार्यमार्फत नै प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।
उहाँले सार्वजनिक संस्थानहरुले संस्था व्यवस्थापन खर्चका लागि आफ्नै स्रोत बनाउनुपर्ने आवश्यकता भएपनि त्यस्तो नभएको कारण खारेज गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले संस्थान भएको औचित्य पुष्टि गर्न नसक्दा निर्णय गर्ने निकाय र सिफारिस गर्नेहरुले खारेज गर्न लागेको बताउनु भयो ।
उहाँले अहिलेको आवश्यकता बोर्ड खारेजी नै हो वा पुनःसंरचनामा जाने तथा अन्य उपाय खोज्ने विषयमा छलफल गर्न सकिने भन्दै खारेज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले बोर्ड खारेज भएपनि कर्मचारी व्यवस्थापन गर्ने सरकारको दायित्व भएको बताउनु भयो। उहाँले सरकारको कर्मचारी व्यवस्थापन गर्ने दायित्वबाट पन्छिन नपाउने बताउनु भयो।
उहाँले कर्मचारी व्यवस्थापन गर्ने स्वभाविक रुपमा सरकारको दायित्व भएपनि यो समस्याको समाधान गर्ने उपाय मन्त्रालय खोज्ने बताउनु भयो । उहाँले सरकारले समस्या सिर्जना नभएर समाधान गर्ने बाटोमा जानु आवश्यक रहेको बताउनु भयो । कृषि मन्त्री भुसालले सरकार समस्या समाधानको विषयमा सकारात्मक रहने विश्वास रहेको बताउनु भयो । उहाँले दुध मानिसहरुको खाद्य र जीवनको आधार भएको भन्दै उत्पादन बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले दुग्धजन्य उत्पादनको क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताउनु भयो। उहाँले दुग्ध उत्पादनको क्षेत्रलाई जनताको जीवनसँग गाँस्न सक्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्