सरोज अधिकारी/नवीन स्थापित (इमेज)
काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आमचुनावअघि र प्रधानमन्त्री भइसकेपछि पनि पटक–पटक रेलमार्ग, पानीजहाज, ग्यासको पाइपलाइन र विद्युत निर्यातलगायतका समृद्धिका सपनाहरु देखाउँदै आएका छन् ।
तर, प्रधानमन्त्री बनेको सात महिना बित्न लाग्दा पनि प्रधानमन्त्री ओलीका सपनालाई मूर्तरुप दिनेतर्फ पाइला अघि बढेको संकेत देखिएको छैन ।
निर्वाचनताकाका हरेक सभा–समारोहमा भाषण गर्दै भोट माग्दा तत्कालीन नेकपा एमाले अध्यक्षको हैसियतले प्रधानमन्त्री केपी ओलीले भन्थे–‘रेल आउँछ, पानीजहाज चलाइन्छ र पाइपबाट घरघरमा ग्यास पुर्याइन्छ ।’
चुनाव जितेर पार्टी नेतृत्वमा दुईतिहाइको सरकार बनिसक्दा पनि प्रधानमन्त्रीको बोल्ने बानीमा खासै फरक परेको छैन । तर, यी कामतर्फको यात्रा भने खासै अघि बढेको देखिएको छैन ।
सरकार बनेको सात महिना पनि बित्न लागिसकेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले यी विषयलाई खासै छोएजस्तो देखिएन । तर पनि प्रधानमन्त्री ओलीले ती विषयहरु दोहोर्याउन छाडेका छैनन् ।
राजनीतिक चिन्तकहरु भने जनतालाई धेरै सपना बाँडेर काम नगर्दा निराशा बढ्न थालेको बताउँछन् ।
राजनीतिक चिन्तक प्राध्यापक कृष्ण खनाल प्रधानमन्त्रीजस्तो कार्यकारी व्यक्तिले बोल्ने तर काम नगर्ने अवस्थाले जनतामा चरम निराशा बढाएको बताउँछन् ।
‘सबै हुन्छ भन्ने डेलिभरी केही नहुने प्रवृत्तिले वर्तमान सरकारबाट आशावादी हुने ठाउँ छैन’–भन्छन्, खनाल ।
प्रधानमन्त्री ओलीले आफ्नो यो कार्यकालमा नारा नै तय गरेका छन्, ‘समृद्धि नेपाल, सुखी नेपाली’ । तर, नाराको परिभाषाभित्र के पर्दछन् भन्ने हेक्कासमेत नगरेको भनाइ छ, विश्लेषकहरुको ।
रेल ल्याउनु, पानीजहाज चलाउँछु भन्नुमात्र समृद्धि होइन भन्छन्, उनीहरु ।
‘विद्युत् उत्पादन भएपछि त्यसको निर्यात कसरी, कहाँ गर्ने ? रेल, पानीजहाज चलाउन आवश्यक पर्ने जनशक्ति व्यवस्थापनलगायतका तयारीबिना कसरी लक्ष्य हासिल गर्न सकिन्छ ?’–भन्छन्, राजनीतिक चिन्तक खनाल ।









प्रतिक्रिया दिनुहोस्