काठमाडौं, भदौ २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले बिम्स्टेक सदस्य राष्ट्रहरुले संयुक्त सैन्य अभ्यास गर्ने विषयको चर्को आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद भीम रावलले बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यासको सम्झौता हुनुले नेपालको राजनीतिक, कूटनीतिक र भौगोलिक अखन्डतामा दीर्घकालीन क्षति पुग्ने चेतावनी दिए ।
उनले संयुक्त सैन्य अभ्यासबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा दिएको जवाफ व्यवहारमा कार्यान्वयन हुनुपर्ने माग पनि गरे ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले नै संविधानको उल्लंघन गरेको आरोप लगाए ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले बर्दियामा भदौ १६ गते प्रहरी हिरासतमै राममनोहर यादवको मृत्युमा सरकार प्रत्यक्ष संलग्न रहेको भन्दै संसदीय समिति गठन गरेर छानबिन गर्न माग गरे ।
यस्तै, प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले प्रेसलाई आतंकित पार्ने काम गरेको भन्दै संविधानविपरीतको उक्त काम तत्काल रोक्न माग गरे ।
शून्य समयमा दिलेन्द्रप्रसाद बडू, देवेन्द्र पौडेल, देवप्रसाद तिमिल्सिना, देव गुरुङ, टेकबहादुर बस्नेतलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्