
काठमाडौं, भदौ २० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो सम्मेलनको कुनैपनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सन्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पस्ट गरे ।
यही भदौ १४ र १५ गते काठमाडौंमा सो सम्मेलन भएको थियो ।
नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्नेगरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको जनाउँदै उनले भने–‘बिम्स्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल भएको छैन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे मंगलबारको संसदको बैठकमा स्पस्ट पारिसकेका छन् ।
समितिका सदस्य भीमबहादुर रावलले सम्मेलनको उद्घाटनसत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्तिम साता भारतमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएको र नेपालको सम्बन्धित निकायले पनि त्यहाँ सैन्य टोली जाने तयारी गरेको आफ्नो जानकारीमा आएको जिकिर गर्दै त्यस्तो अभ्यास बिम्स्टेकको अवधारणा प्रतिकूल हुने बताए ।
समितिका सदस्य डा. नारायण खड्काले बिम्स्टेक सम्मेलनका विषयमा समितिमा विस्तृत् छलफल गर्नुपर्ने भएकाले अर्काे बैठकको माग गरे ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बिम्स्टेकका सदस्य मुलुुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले सम्बोधनकाक्रममा व्यक्त गरेका सबै धारणा साझा हुन नसक्ने जानकारी दिए ।
बैठकमा राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि छलफल प्रारम्भ भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्