
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन समयमै बन्न नसकेको बताउनुभएको छ ।
शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव सुवेदीले यसअघिको सरकारको मन्त्रिपरिषद्मा मन्त्रालयबाट सबै काम गरेर पुर्याए पनि मन्त्रिपरिषद्ले चासो नदिँदा पुनः शून्यमा झरेको बताउनुभएको हो ।
उहाँले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा शिक्षा मन्त्रालयले सबै प्रक्रिया टुंग्याइ मन्त्रिपरिषद्मा पठाएको तर मन्त्रिपरिषद्ले चासो नदिएको बताउनुभयो । उहाँले संघीय शिक्षा ऐन मन्त्रिपरिषद्मा पुगेको १ महिना पछि मात्रै मन्त्रिपरिषद्मा पुगेको नेपाल विश्वविद्यालय ऐन भने तत्काल संसदमा प्रस्तुत भएको भन्दै सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो ।
सचिव सुवेदीले यस वर्ष समयमा नै देशभर पाठ्यपुस्तक पुगेको दाबी गर्नुभयो । उहाँले केही ठाउँमा साना समस्या भएपनि त्यसलाई समाधान गर्न लागिपरेको बताउनुभयो । उहाँले पाठ्यपुस्तक वितरणमा पनि कुनै समस्या नदेखिएको बताउनुभयो ।
सचिव सुवेदीले कक्षा १ देखि ५ निजी क्षेत्रलाई र कक्षा ६ देखि १२ जनक शिक्षा सामाग्रीको सहकार्यमा काम गर्दा सबै क्षेत्रमा समयमा नै पुस्तक पुगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्