Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


सरकारको कामबारे गम्भीर समीक्षा सुरु : दाहाल


0
Shares

रमेश लम्साल (रासस)

काठमाडौं, भदौ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताएका छन् ।

आफ्नै निवास खुमलटारमा मंगलबार सन्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताए ।

‘दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमणकेन्द्रित रहनेछ’–उनले भने–‘अध्यक्षका नाताले दुवै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालिका बनेको हो । मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।’

अध्यक्ष दाहाल यही भदौ २१ गते भारत भ्रमणमा जान लागेका छन् ।

पार्टी एकताको सम्पूर्ण काम भदौ मसान्तसम्म

अध्यक्ष दाहालले पार्टी एकताको सम्पूर्ण काम यही भदौ मसान्तसम्म पूरा गर्ने अभियानमा लागेको बताए ।

तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएका कार्यदलहरुले प्रतिवेदन बुझाइसकेको बताउँँदै अध्यक्ष दाहालले पार्टीको स्थायी समिति र सचिवालयको बैठकले यसको अन्तिम टुंगो लगाउने बताए ।

उनले भने–‘तल्ला समितिमा कुनै समस्या भएर एकीकरणमा ढिलाइ भएको होइन ।’

उनले भने–‘एकताका लागि गठित कार्यदलहरुले प्रतिवेदन दिएका छन् । ठूलो पार्टी भएको अवस्थामा देखिने सामान्य असन्तुष्टिहरुकोसमेत व्यवस्थापन गर्नेगरी यसको टुंगो यही महिनाभित्र लगाइनेछ ।’

स्थानीय तहसम्मको पार्टी एकतापछि पार्टीले नयाँ गति लिनेसमेत उनको भनाइ छ ।

सरकारको कामबारे गम्भीर समीक्षा सुरु

उनले सरकारको भूमिकाबारे जनताको तहमा देखिएको असन्तुष्टिलाई समयमा नै हल गर्नुपर्नेमा जोड दिए ।

‘जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे हामी दुवैै अध्यक्ष गम्भीर छौं’–उनले भने ।

अध्यक्ष दाहालले भने–‘हाम्रोबीचमा यो विषयमा गम्भीर छलफल सुरु भएको छ । आमजनताले सरकारबाट राखेको अपेक्षा पूरा गर्न सरकारको भूमिका र संचरनाकाबारेमा के–कसरी जाने भन्ने विषयमा गम्भीर ढंगले छलफल भइरहेको छ । हाम्रो मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै हामीले लिएको बाटोतर्फ देशलाई अघि बढाउने हुनेछ ।’

अध्यक्ष दाहालले समीक्षाबाट प्राप्त निष्कर्षलाई पार्टीभित्रसमेत छलफल गरी सरकारको प्रभावकारिता बढाउने दिशामा ठोस कदम चालिनेसमेत बताए ।

अभ्यास नपुग्दा समस्या

पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा राखिएको जिज्ञासाकाबारेमा अध्यक्ष दाहालले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने बताए ।

देशमा विगतको संरचना नरहेको र नयाँ संघीय, समानुपातिक र समावेशी राज्य संरचनाको निर्माण भएको परिवेशमा पूर्णकार्यान्वयनमा आउन समय लाग्ने स्पस्ट पारे ।

करका विषयमा पछिल्लो समय उठेको विवाद र समस्याको समाधानका लागिसमेत सरकार गम्भीर रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालले हरेक परिवर्तनपछि पुराना शक्ति र नयाँ चाहने शक्तिबीच जहिल्यै पनि संघर्ष चर्कने बताउँदै स्थानीय तहहरुमा केही समस्या देखिएपनि कैयन सकारात्मक पक्षसमेत रहेको बताए ।

उनले स्थानीय तहमा अहिले हाम्रा लागि केही गरौं भन्ने भावनाको विकास भएको भन्दै यसको परिणाम दीर्घकालमा देखिने स्पस्ट पारे ।

सरकार र संरचनाबारे पूरै नकारात्मक चित्रण गर्ने समय आइनपुगेकामा अध्यक्षले विशेष जोड दिए ।

उनले भने–‘हिजो संघीयता, समानुपातिक समावेशिलगायतका विषय सैद्धान्तिक बहसमा थिए र त्यहीअनुरुपको संविधान बन्यो । तर, अब यसबारे व्यवहारमा वास्तविक बहस सुरु भएको छ ।’

सामाजिक मूल्यमा ह्रासप्रति चिन्ता

अध्यक्ष दाहालले नेपाली समाजका कतिपय सांस्कृतिक, व्यवहारिक तथा नैतिक मूल्यमा देखिएको विचलनप्रति चिन्ता व्यक्त गरे ।

उनले भने–‘हाम्रो समाजमा किन यस्तो प्रवृत्ति फैलियो ? किन समाज हिंसात्मक भयो र विचलन हुँदैछ भन्ने विषयमा सबैले सोच्नु जरुरी छ । सरकार या नेता विचलन भए त अरू खोजौंला ! तर, समाज नै विचलन भएर स्खलित भए, त्योमाथि उठाउन निकै गाह्रो पर्छ ।’