काठमाडौं । चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा उपाधिको दावेदार मच्छिन्द्रलाई २–१ ले हराउँदै चर्च ब्वाइज पुनः शीर्षस्थानमा फर्किएको हो ।
चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को आत्मघाती गोल उपहार पायो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत गोल गरेपनि मच्छिन्द्र त्यसपछि सम्हालिन सकेन । चोटका कारण आफ्नो पहिलो रोजाइका चार खेलाडीबिना उत्रिएको मच्छिन्द्रको प्रदर्शन उत्कृष्ट रहन सकेन ।
चर्च ब्वाइजले लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ । चर्च ब्वाइजले १६ खेलमा ३० अंक जोड्दा दोस्रो स्थानको जावलाखेलको २७ र तेस्रो स्थानको थ्री स्टारको २५ अंक छ । मच्छिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा छ ।
आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल एपीएफले आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले हराएको हो । एपीएफ तालिकामा २२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।
प्रतिक्रिया दिनुहोस्