
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिनु चुनौति दिनुभएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उहाँसँगको भेटमा ‘दोषीहरु कोही पनि नछुटून’ भनेर भन्नु परेको जिकीर समेत गर्नुभयो । प्रधानमन्त्री दाहालले सो प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले सो प्रकरणको छानवीन गरी दोषीमाथि कारबाही गर्न दवाव दिनुपरेको उहाँको स्पष्टिकरण थियो ।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो प्रकरणमा आफ्नो पार्टीलाई फसाउन र दोषीलाई जोगाउन प्रधानमन्त्री दाहालले कस–कसलाई निर्देशन दिएको भन्ने कुरा आफूलाई थाहा भएको र पछि त्यसको सार्वजनिक गर्ने पनि बताउनुभयो ।
उहाँले प्रधानमन्त्री दाहालले आफूले भ्रष्टहरुलाई छुटाउन दवाव दिएजसरी सञ्चार माध्याममा बोलेको दोहो¥याउँदै हिरोइज्मको खेल खेल्ने प्रयास नगर्न समेत चेतावनी दिनु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टी सो प्रकरणको दोषीलाई जोगाउने पक्षमा नरहेको पटकपटक दोहोर्याउनुभयो ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ बोत्तलमा राखिएको पुरानो रक्सीको रुपमा चित्रण गर्नुभयो । तितेपाती उदाहरण प्रस्तुत गर्दै उहाँले सो पार्टीको आयु बढिमा ४ महिनाको रहेको पनि बताउनुभयो । उहाँले नयाँ र पुरानोको हल्ला चलाउनुको कुनै अर्थ नरहेको पनि बताउनुभयो ।
ओलीले एमाले सबैभन्दा पुरानो र नयाँ पार्टीको भएको दावी समेत गर्नुभयो । ओलीले देश बनाउने भिजनविनाको पार्टीलाई नयाँ पार्टी भन्न नसकिने तर्क समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्