कोमल शेरचन/कुमार कटुवाल (इमेज)
काठमाडौं, भदौ १९ । पछिल्ला वर्षहरुमा महिला हिंसाका घटना दिन–प्रतिदिन बढिरहेका छन् ।
चार वर्षयताको तथ्यांकमात्र हेर्ने हो भने हरेक दिन चारजना महिला कुनै न कुनै रुपको हिंसाको शिकार भइरहेका छन् ।
समाजमा बढ्दो अपराधीकृत मानसिकता त्यसको कारण रहेको मानवशास्त्रीहरुको मत छ ।
सुन्दै कहाली लाग्ने, सोच्नै नसकिने घटनाले हिजोआज समाजमा बस्ने सामान्य मानिसको दिमाग नै रन्थन्याउन थालेको छ ।
अपराधको घटना पनि यस्ता कि काखे बालिकादेखि वृद्धा आमाहरुसमेत यो समाजमा सुरक्षित नरहेको घटना सार्वजनिक भइरहेका छन् ।
गत साउनमामात्रै एक दर्जन बढी बलात्कारका घटना सार्वजनिक भएका छन् ।
अपराध अनुसन्धान विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ को अहिलेसम्मको अवधिमा तीन हजारभन्दा बढी बलात्कारका उजुरी दर्ता भएका छन् ।
यी त प्रहरीसम्म उजुरी दिन आइपुगेका घटना हुन् । प्रहरी प्रशासनसम्म नआएका घटना कति होलान् ? सम्झँदै आङ सिरिङ हुन्छ ।
दूधे बालिकादेखि हजुरआमा उमेरसम्मका माथि भइरहेको यस्तो अपराधको शृंखला देखेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले समाज नराम्ररी पतनको दिशामा उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
बालिका, किशोरी बलात्कार गरेर हत्या गर्ने घटनाले समाजलाई कता डोर्याउन खोजेको छ ? भन्ने चिन्ता थपिएको छ ।
एकातिर दिन–प्रतिदिन अपराध बढ्दो छ भने अर्कातिर अपराधी पक्राउ पर्न नसक्दा आममानिसमा त्रास थपिएको छ । जसले महिलाहरु निर्भयका साथ बाँच्न पाउने अवस्था सिर्जना गर्न राज्य–सरकार विफल देखिएको छ ।
बलात्कारजस्तो जघन्य अपराधमा नजिकका र नातागोताकै मानिसको संलग्नता देखिँदा सामाजिक मूल्य र मान्यतामाथि नै प्रश्न उठ्न थालेको छ ।
घर र परिवारबाटै यस्ता जघन्य अपराधविरुद्ध नै नैतिक शिक्षामा जोड दिनुपर्ने राय मानवशास्त्री डा. रामबहादुर क्षेत्रीको छ ।
प्रतिक्रिया दिनुहोस्