काठमाडौं । २०७२ सालको भूकम्पले तहसनहस बनाएपछि काठमाडौं उपत्यकामा खुला सार्वजनिक स्थलको महत्वका विषयमा धेरै बहस भए । सरकार, राजनीतिक दल, जनप्रतिनिधिमूलक निकायले सार्वजनिक स्थल बनाउने प्रण गरे । तर, भूकम्प गएको आठ वर्ष बित्दा मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबारदेखि ११४ रोपनी जग्गा रहेको काठमाडौंको भृकुटीमण्डप क्षेत्र अव्यवस्थित बन्दै गएको छ । सरकारी स्वामित्वमा रहेको जग्गामध्ये ४० प्रतिशत स्टल र ६० प्रतिशत खुल्ला चौर छ । यस क्षेत्रलाई परिषद्ले भाडामा लगाउँदै आएपनि ठाउँको उचित व्यवस्थापन नहुँदा यत्रतत्र, सर्वत्र अस्तव्यस्त छ ।
सिंहदरबारको मूल गेटबाट अगाडि हेर्दा निकै अव्यवस्थित बजार देखिन्छ । निलो प्लास्टिक र बाँसबाट ४२ रोपनीमा बनेको खुला बजार । जहाँ वर्षा हुँदा हिल्लाम्मे हुने र अन्य दिनमा हावा पनि छिर्ने ठाउँ छैन । शौचालयको उचित प्रबन्ध छैन । खानेपानीको उस्तै समस्या छ । ३१ वर्ष अघि खुला मञ्च सफाई गर्ने भन्दै काठमाडौं महानगरले भृकुटीमण्डपमा सारेको खुल्ला बजार अझै व्यवस्थित हुन सकेको छैन । जसका कारण यस क्षत्र अझै बढी अवस्थित देखिएको छ ।
त्यस्तै, ठूलो स्थान भएको खुला चौरलाई समाजकल्याण परिषद्ले भाडामा लागाउन मात्र खोज्दा व्यस्त बजारमा रहेको खुला ठाउँमा गएर बस्ने ठाउँको पनि अभाव हुन थालेको छ । भएको ठाउँमा पनि पक्की भवन थप्दै जाने तथा पानीपुरी तथा अन्य खाजा पसलका स्टलहरु थप्दै जाँदा यो स्थान झनै कुरुप देखिन थालेको भृकुटीमण्डप सञ्चालक कार्यालयका प्रमुख दुर्गा प्रसाद भट्टाई बताउनुहुन्छ ।
भृकुटीमण्डप सञ्चालन कार्यालयले सामान्य नाङ्ले पसलसँग पनि मासिक ३ हजार उठाउने गरेको छ । भृकुटीमण्डप क्षेत्रमा फन पार्क, खुला बजार, पर्यटन बोर्ड, तरकारी बजार सञ्चालन, ७६ वटा पक्की स्टल, १६ बटा वुथ पसल, ३५ वटा घुम्ती पसल तथा १६ आनामा खसी बजार सञ्चालित छ । यो सहित खुला चौरमा हुने कार्यक्रम, सुटीङ, विभिन्न मेलाबाट कार्यालयले वर्षको १६ करोड बढी आम्दानी गर्ने गरेको छ । तर भाडा उठाउने तर व्यवस्थित गर्न नसकेको आरोप सञ्चालन कार्यालयलाई लाग्ने गरेको भृकुटीमण्डपका व्यवसायी राजन बस्नेत बताउनुहुन्छ ।
अव्यवस्थित बजार, जथावाभी पार्किङ लगातका कारणले भृकुटीमण्डप क्षेत्र कुरुप बन्दै गएको छ । अझ सुरक्षा कारण जनाउँदै भृकुटी मण्डप हाताबाहिर सञ्चालित नाङलो तथा चटपटे पसल पनि भित्रै सारेपछि त झनै यो क्षेत्र अस्तव्यस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्