
काठमाडाैं । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस आइतबार मनाइएको छ ।
काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आइतबार ३० औं पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो । काठमाडौंको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी ३० औं स्मृति दिवस मनाइएको छ।
स्मृति दिवसको अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी राष्ट्रिय विभूति शेर्पाकी छोरी आङ फुटी शेर्पाले शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै संसारभरका महिलाका लागि पासाङ ल्हामु प्रेरणाको श्रोत भएको बताउनुभयो ।
उहाँले फाउण्डेशनको तर्फबाट पनि हिमाल आरोहणको चाहना राख्ने महिलालाई आवश्यक सहयोग गरिरहेको र राज्यले पनि यस्ता सहयोगका कार्यमा थप अग्रसरता देखाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले देशमा नै हिमाल आरोहीलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, पासाङ ल्हामु प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष लाक्पा फुटी शेर्पाले पासाङ ल्हामु शेर्पाका सपनाहरु आज आएर साकार भइरहेको देख्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले पासाङ ल्हामु शेर्पाले देशका लागि केही गर्छु भन्ने भोक रहेको र उहाँको आत्मविश्वासलाई देखेर नै आजका महिलाहरुमा थप काम गर्ने इच्छा, चाहना र प्रेरणा प्राप्त भइरहेको बताउनुभयो ।
त्यस्तै, पूर्वमन्त्री कृपाशुर शेर्पाले पासाङ ल्हामु शेर्पाको स्मृति दिवस इज्जत, प्रतिष्ठा र गौरवको रुपमा मनाइएको बताउनुभयो । उहाँले उहाँको जीवनीले नयाँ पुस्तालाई उत्साह, जोश जाँगर प्रदान गर्ने बताउनुभयो ।
त्यस्तै, खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले पासाङल्हामु शेर्पाको कदरका लागि गाउँपालिकामा संग्रहालय बनाउन लागेको बताउनुभयो । उहाँको नाममा विभिन्न कोषहरुको स्थापना गरी आवश्यक परेकाहरुलाई सहयोग गर्नेतिर पनि गाउँपालिकाले योजना बनाइरहेको बताउनुभयो ।
पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुन् । शेर्पाले २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यो भन्दा पहिला तीन पटकसम्म सगरमाथा चढ्ने प्रयास असफल भएको थियो ।
सगरमाथाको शिखरबाट श्रीमान सोनाम छिरिङसँग फर्कने क्रममा शेर्पाको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्