१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


गोपनीयता भंग गरेको अभियोगमा म्यानमारमा दुई पत्रकारलाई ७/७ वर्ष जेल


0
Shares

काठमाडौं, भदौ १८ । म्यानमारको एक अदालतले अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’का दुईजना पत्रकारलाई जनही सात वर्षको जेल सजाय सुनाएको छ ।

देशको गोपनीयता भंग गरेको अभियोगमा म्यानमारको राजधानी यांगुनको एक अदालतमा सोमबार भएको सुनुवाइकाक्रममा उक्त सजाय सुनाइएको हो ।

पत्रकारद्वय वा लोन र क्याव सोय ओलाई सात–सात वर्षको जेल सजाय सुनाएको हो ।

रोयटर्सका यी दुई पत्रकारले रोहिंग्या समुदायमाथि भएको हिंसाका सम्बन्धमा अनुसन्धानात्मक रिपोर्टिङ गरिरहेका थिए ।

त्यसक्रममा देशको गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको भन्दै उनीहरुलाई बन्दी बनाएको थियो ।

प्रहरी अधिकारीले दिएको आधिकारिक कागजात लिएर फर्किरहेका बेला उनीहरुलाई गएको डिसेम्बरमा पक्राउ गरिएको थियो ।

पत्रकारहरुले भने आफूहरु निर्दोष रहेको र प्रहरीले फसाएको बताउँदै आएका छन् ।

यो घटनालाई म्यानमारको प्रेस स्वतन्त्रताको अवस्थासँग जोडिएर हेरिएको छ ।

वा लोनले आफूलाई कुनै किसिमको डर नलागेको बताएका छन् ।

रोयटर्सका प्रधानसम्पादक स्टिफन एड्लरले यो दिन म्यानमार, रोयटर्सका दुई पत्रकार वा लोन र केयव सिओ ओ तथा प्रेस स्वतन्त्रताका लागि दुःखद् दिन रहेको बताएका छन् ।

न्यायाधीश यी एविनले यांगुनमा रहेको अदालतमा फैसला सुनाउँदै दुई पत्रकारले राज्यलाई हानि गर्ने मनसाय राखेको बताए । (एजेन्सी)