
काठमाडाैं । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ ।
सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो। कर्णाली करिडोरको सडक विस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया गाविस र गोठी गाविसमा मानिसहरुका साथै बाहिरी जिल्लाबाट बसाई सरेर सडक छेउछाउमा बस्न आउने क्रम पनि बढ्न थालेको छ ।
साँयाका ४ वटा गाँउका मानिसहरुको दैनिक उपोभोग गर्ने सामानहरुको मुख्य बजार भएका कारण पनि सर्केगाडमा बजार विस्तारको क्रम बढेको हो । बजार विस्तारको क्रम बढ्न थालेसँगै कर्णाली नदी पनि दुषित हुन थालेको छ । बजारबाट निस्किने फोहोर तथा ढल कर्णाली नदी किनारमा फाल्ने र नदी छेउछाउ खुला शौचालय गर्ने क्रम बढेका कारण कर्णाली नदी दुषित बन्दै गएको भन्दै स्थानीयहरुले दुखेसो पोखेका छन् । कर्णाली करिडोर निर्माण हुनुअघि यहाँका मानिसहरु कर्णालीकै पानी पिउने गर्दथे ।
तर, करिडोर निर्माणसँगै बस्ती विकासको क्रम बढ्दा नदी दुषित हुन थालेपछि कर्णालीको पानी नुहाउन र लुगा धुन तथा भाडा माझ्न मात्रै प्रयोग गर्न थालिएको स्थानियवासी बताउँछन् । स्थानीय रेलकला शाहीलेसंचारकर्मीसँगको कुरा गर्दै शौचालयको ढल र खानेपानीको ढल निकासी गर्ने क्रम कर्णाली नदीमा बढेसँगै नदी प्रदूषित हुन पुगेको बताउनुभयो । उहाँले कर्णालीमा फोहोर बढ्दा पानी पिउन योग्य नरहेको बताउनुभयो ।
त्यस्तै अर्का स्थानीय भीमबहादुर सिंहले कर्णाली नदीको छेउछाउमा बस्तीहरु बढेसँगै फोहोर बढेकाले पानी पिउन योग्य नरहेको बताउनुभयो । मृत पशुचौपायाहरु पनि नदीमा नै फाल्ने गर्दा नदी अत्याधिक दुषित भएको उहाँले बताउनुभयो ।
कर्णाली करिडोरको सडक विस्तार भएसँगै विकासको धमिलो बाछिटा हुम्लाको पर्यावरणमा देखिन थालेको विषयमा भने स्थानीय सरकार अनविज्ञ देखिएको छ । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) ले कर्णाली नदीमा बजारको फोहोर फाल्ने गरेको विषयमा आफू जानकार नरहेको भन्दै अब बजार अनुगमन गरेर नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने बताउनुहुन्छ । उहाँले ढल निकासी नदीमा गर्नु नराम्रो भएको भन्दै आफैँले उपभोग गर्ने पानीमा ढल मिसाउनु सरासर गलत भएको बताउनुभयो ।
करिडोर अन्तर्गत यातायात सुचारु भएका हुम्ला जिल्लामा मात्रै नभई बाजुराका विभिन्न स्थानमा भएका बजारबाट निस्किने फोहोर पनि कर्णाली नदी किनारमा फाल्ने गरिएको छ । बाजुराका पर्यटन व्यवसायी जनेश भण्डारीले कर्णाली नदी संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै नदीको पानी कैलाश जलको रुपमा उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
नदीको संरक्षण नगर्ने हो भने भविष्यमा पहाडी क्षेत्रका वासीन्दाहरुले पानी पिउन नपाउने स्थिति सिर्जना हुने बताउनुभयो । उहाँले कर्णालीको पानी पानी उद्योगको रुपमा विकास गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भविष्यमा मानव सभ्यता जोगाउने भूमिका कर्णालीले खेल्ने पनि बताउनुभयो ।
यता, कर्णाली करिडोरमा यातायात सुचारु भएसँगै हुम्ला जिल्लाको आन्तरिक उत्पादन पनि लोप हुन थालेको छ । यहाँका स्थानियहरु आन्तरिक उत्पादलाई प्रयोग गर्ने भन्दा पनि नेपालगञ्ज, रुपडिया लगायत तराईका जिल्लाबाट आयात गरी उपभोग गर्न थालेका कारण पनि आन्तरिक उत्पादन लोप हुन थालेको हो । स्थानीय प्याराजंग शाहीले यातायात सुचारु हुँदा स्थानीयहरु काम गरेर खाने भन्दा पनि किनेर खानेमा निर्भर हुने गरेको बताउनुभयो ।
उहाँले हुम्लाको उत्पादनले बाहिरका बजारलाई विस्थापन गर्नुपर्नेमा बाहिरका सामग्रीहरुले स्थानीय बजार विस्थापन गरेको बताउनुभयो । उहाँले बाहिरको सामग्रीलाई रोक्नको लागि भण्डारण केन्द्रको आवश्यक्ता रहेको बताउनुभयो ।
त्यस्तै, आन्तरिक पर्यटक दीपक आचार्यले विकाससँगै विकृति पनि भित्रिरहेको महशुस गरेको बताउनुभयो । उहाँले विकासले स्थानीय उत्पादनहरु लोप हुँदै गएको बताउनुभयो । उहाँका अनुसार हुम्लामा पछिल्लो समय बढ्दो शहरीकरण, स्थानीय उत्पादनमा ह्रास र परनिर्भरता बढ्दै गएको छ ।
कुल क्षेत्रफल मध्ये ४ हजार २ सय ६७ हेक्टर खेतीयोग्य जमिन रहेको हुम्ला जिल्लामा कोदो, फापर, चिनो, कागुनो, नाफल, चुली, मकै, सिमी, उवा, जौं, मासी धान, आलु, खामु र स्याउ लगायतका अन्नबाली र फलफूल उत्पादन हुँदै आएपनि सडक बिस्तारका कारण परनिर्भरता बढेको छ । यसरी खाद्य आयत निरन्तर बढ्दै गए हुम्ला जिल्ला लगायत आसपासका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक देखिने प्रायः निश्चित छ ।
यसका लागि राज्यका सम्बन्धित निकायले बैलैमा ध्यान दिन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्