Logo १३ माघ २०८२, मंगलबार | Wed Jan 28 2026


सप्तरीमा बस दुर्घटन हुँदा एकै ठाउँका २१ घाइते


143
Shares

सप्तरी । सप्तरीको शम्भुनाथमा आज भएको बस दुर्घटनामा एकै ठाउँका २१ जना घाइते भएका छन् । शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१ यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बस चालक झापा बिर्तामोड नगरपालिका–१ का ४३ वर्षीय टङ्क अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

बस दुर्घटनामा झापाको बुद्धशान्ति गाउँपालिका–२ बुधबारेका ५० वर्षीय डम्बरकुमारी गौतम, सोही ठाउँकी ६९ वर्षीया जगदेवी अठानी, ६५ वर्षीया देवमाया मगराती, ४५ वर्षीया नरमाया मगराती, ३९ वर्षीया अमृता बजगाईं, ५० वर्षीया मीना ढकाल, ५३ वर्षीया कमला सुवेल, ५० वर्षीया हिमा लम्जेल, ६० वर्षीया कमला लम्जेल र ६१ वर्षीया बालकुमारी मगर घाइते हुनुभएको छ । उहाँहरूको सप्तरीको कल्याणपुरस्थित युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी झापाको बुद्धशान्ति–२ कै ५१ वर्षीय बालकिसन मिजार, ४८ वर्षीय बुद्धिमान लिम्बु, ४८ वर्षीय केदार पौडल, ५८ वर्षीया सरिता बोहरा, ४० वर्षीय टीका बोहरा, ३८ वर्षीया गीता मिजार, ३० वर्षीय बिना आचार्य, १४ वर्षीया अस्मिता गुरागाईं र ४७ वर्षीय उमा श्रेष्ठ घाइते हुनुभएको छ ।

घाइते हुनेमा झापाको गौरादह गाउँपालिका–४ का ४६ वर्षीय धर्मेन्द्रकुमार श्रेष्ठ र ४० वर्षीया सुष्मा प्रधानसमेत रहनुभएको छ । उहाँहरूको उपचार भने कल्याणपुरस्थित एडभान्स अस्पतालमा भइरहेको छ ।