३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


वैशाखसम्ममा पूँजीगत खर्च जम्मा ३८ प्रतिशत, व्यापार घाटा ९ खर्ब नाघ्यो


0
Shares

काठमाडौं, जेठ २७ । चालु आर्थिक बर्ष २०७४/०७५ को वैशाख महिनासम्ममा पूँजीगत खर्च जम्मा ३८ प्रतिशतमात्र खर्च भएको छ ।

चालु आर्थिक बर्ष १२ सय ७९ अर्बको बजेटमध्ये सरकारले चालु खर्चका लागि ८०३ अर्ब र पूँजीगत खर्चका लागि ३३५ अर्ब छुट्याएको थियो । यसमध्ये वैशाखसम्म चालु खर्च ५४७ अर्ब अर्थात् ६८ प्रतिशत र पूँजीगत खर्चतर्फ भने जम्मा १२८ अर्ब अर्थात् ३८ प्रतिशत खर्च भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक स्थितिमा जनाइएको छ ।

अघिल्लो वर्ष यस अवधिमा यस्तो खर्च ९० अर्ब २४ करोड भएको थियो ।

यस अवधिमा नेपाल सरकारको कुल राजस्व संकलन २१.१ प्रतिशतले वृद्धि भई रु. ५६२ अर्ब ५४ करोड पुगेकोे छ । ७३० अर्बको लक्ष्यमा सरकारले ७७ प्रतिशत संकलन गरेको हो ।

२०७५ वैशाख मसान्तसम्ममा सरकारी ढुकुटीमा स्थानीय तहको खातामा जम्मा भएको १२४ अर्ब ४७ करोड समेत गरी जम्मा २६९ अर्ब ५१ करोड नगद मौज्दात कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

वैशाख महिनामा मूल्यबृद्धि भने केही न्यून हुन गएको जनाइएको छ । केही उपभोग्य वस्तुहरुको मूल्यमा आएको गिरावटका कारण २०७४ फागुनमा ६ प्रतिशत पुगेको उपभोक्ता मुद्रास्फीति वैशाखमा घटेर ४.१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा खाद्य मुद्रास्फीति ३.२ प्रतिशत रहेको र गैर–खाद्य मुद्रास्फीति ४.८ प्रतिशत रहेको जनाइएको छ । यस अवधिमा व्यापार घाटा भने ९ खर्ब नाघेको छ । वैशाख महिनासम्ममा कुल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भई रु. ६६ अर्ब ६५ करोड पुगेको र कुल वस्तु आयात भने २१.९ प्रतिशतले बढेर रु. ९८५ अर्ब ८३ करोड पुगेको छ ।

यस अवधिमा कुल वस्तु व्यापार घाटा २२.९ प्रतिशतले बढेर ९१९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको दश महिनामा रु. ५३ अर्ब ८१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति भने यो दश महिनामा आइग्दा १८ अर्ब ९३ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह भने १५ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ६१ करोड थियो ।