
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरबका आयोजनाहरुको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन ।
सोमबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा भाग लिदै राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले राष्ट्रिय गौरबका आयोजनाहरु छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय लिन सरकारलाई दवाव दिनुभएको हो ।
बैठकमा बोल्दै सांसद देवकोटाले राष्ट्रिय गौरबका आयोजनाहरुलाई छिटो सम्पन्न हुने गरी अघि बढाउनका लागि कुनै पनि समस्या नआउने गरी आवश्यक निर्णय लिन सरकारले ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले सो आयोजनाको कामलाई अघि बढाउनका लागि अन्तर मन्त्रालयबीचको समन्वयमा पनि जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
अर्का सांसद रामचन्द्र राईले काठमाडौं–तराई दु्रतमार्ग अन्तरगतको खोकना र बुङमतीको जग्गा अधिग्रहणको विवाद अझैसम्म टुंग्याउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । त्यसैगरी उहाँले बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
सरकार संसद र संसदीय समितिप्रति जवाफदेही नभएको गुनासो सांसद सोनाम ग्याल्जेन शेर्पाले गर्नुभयो । उहाँले समितिहरुले दिएको निर्देशन कार्यान्वयन गर्न भन्दा पनि सरकार र सरकारका मन्त्रीहरु झारो टार्ने खालको काममा मात्रै लाग्ने गरेको भन्दै आपत्ति समेत जनाउनुभयो ।
सांसद शेर्पाले निजगढ अन्तराष्ट्रिय विमानस्थल अघि बढाउने विषयमा तत्काल आफ्नो धारणा सार्वजनिक गर्न पनि सरकारलाई दवाव दिनुभयो । उहाँले पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थलको दिगोपनाबारे आवश्यक योजना तत्काल सार्वजनिक गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्