
काठमाडाैं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म शुक्रबारदेखि दैनिक ४ पटक रेल आवतजावत हुने भएको छ ।
हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दैनिक ४ पटक आवतजावत गर्दै सेवा विस्तार गरेको हो । यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै शुक्रबारदेखि ४ पटक आवतजावत गर्ने गरी सञ्चालनमा आउने भएको हो ।
नेपाल रेलवे कम्पनीका महाप्रवन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ । भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्नेछ । यो सेवा विस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ ।
यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावयश्क भीडभाड हुने गरेको थियो । महाप्रवन्धक झाले बिजलपुरासम्म रेल सेवा बिस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरु छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताउनुभयो ।
उहाँले चाँडै नै बिजलपुरासम्म रेल सेवाको बिस्तारको लागि प्रयासरत रहेको बताउनुभयो । उहाँले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको बताउनुभयो । उहाँले अब सहज र सुलभ रेलसेवा उपब्ध हुने बताउनुभयो । यसअघि १० बजे जनकपुरधामबाट हिंड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतीय बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थियो ।
महाप्रवन्धक झासहित भारतीय प्राविधिकहरुको टोली समेत मिलेर रेल अगाडिको लिकमा नरिवल फुटाएर सेवा विस्तारको शुभारम्भ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्