Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकको विरोधमा द्वन्द्व पीडितको धर्ना


52
Shares

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को बिरोध गर्दै द्वन्द्व पीडितहरुले आफ्नो आन्दोलन जारी राखेका छन् ।

सरकारले पीडकलाई उन्मुक्ति दिनेगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदमा लगेको भन्दै तत्कालिन माओवादी पीडितहरुले विगत २५ दिनदेखि धर्ना लगायतका विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

द्वन्द्वपीडितहरुले बिहीवार नयाँ बानेश्वरमा धर्ना दिएका छन् । उनीहरुले तत्कालिन नेकपा(माओवादी)ले हत्या, हिंसा, अपहरण, कुटपिट, सम्पती लुटपाट र मानिसलाई बिस्थापित गर्ने सम्मको मानव अधिकार उल्लंघनका घटना घटाएका भएपनि विधेयकमार्फत पीडकलाई उन्मुक्ति दिन लागिएकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।

माओवादीद्वारा पीडित राष्ट्रिय समितिका अध्यक्ष भोजराज तिमल्सिनाले संक्रमणकालिन न्यायको विषयलाई आजसम्म नटुंग्याइएकाले आन्दोलित हुनुपरेको बताउनुभयो । उहाँले मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएकाहरुलाई कानूनी कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले आफुहरु न्यायको पक्षमा रहेको भन्दै न्याय नपाएमा देशमा जनविद्रोह हुने चेतावनी दिनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघ, बाँकेका अध्यक्ष हरि सुनारले आफूहरु पीडित सुरक्षाकर्मी र सुरक्षाकर्मीका परिवारलाई न्यायको माग गर्दै २०६३ सालदेखि आन्दोलित भइरहेको बताउनुभयो । तत्कालिन सुरक्षाकर्मीलाई राज्यले नेपाली जनधनको सुरक्षाको लागि परिचालन गरेको उल्लेख गर्दै उहाँले पीडित परिवारले न्याय पाउनुपर्ने बताउनुभयो ।

आन्दोलनकारीले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर, लुटिएको सम्पती फिर्ता गर, बाल सैन्यलाई न्याय दे, पीडितलाई परिपुरणको ग्यारेन्टी गर लगायतका विभिन्न माग राखिएको प्लेकार्डहरुको प्रदर्शन पनि गरेका थिए ।