
काठमाडौं । सुदूर र मध्यपश्चिमका बासिन्दाले उमामहेश्वरसहित दुबोको पूजा गरेर आज गौरा पर्व मनाउँदै छन् ।
भाद्र शुक्ल अष्टमीका दिन मनाइयो गौरा पर्वलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा मान्ने गरेका छन् ।
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।
गौरा पूजा गर्न कुश, काँस, सामा, तीतेपाती र अपामार्ग जस्ता वनस्पतिको प्रयोग गरिन्छ । कसैकसैले तिलको बिरुवा राखेर देवीको आकार बनाउने गर्दछन् ।
यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ ।
यो पर्वमा केराउ, जौ, मस्याङ, मास र गुराँसको दाना भाद्र शुक्ल पञ्चमीका दिन भिजाएर राखिन्छ ।
यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाउने र भक्तजनलाई पनि प्रसादका रूपमा बाँडिन्छ ।
देशका अरु भागमा तीज मनाएझै पश्चिममा यो पर्व विशेष गरी नारीहरूले मनाउने गर्दछन् ।
यस दिन सुदूरपश्चिमका बासिन्दाले देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्दछन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा पनि गौरा पर्व मनाउन थालिएको छ ।
सुदूर र मध्यपश्चिमका बासिन्दाको बसोबास बढ्दै गएपछि काठमाडौंमा पनि यो पर्व मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्