Logo २२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025


विदेशस्थित नियोगमा लामो समयदेखि रिक्त हुँदा नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा समस्या


0
Shares

काठमाडौं । विदेशस्थित तीन ठूला नियोगमा लामो समयदेखि महत्वपूर्ण पदका रूपमा रहेको नियोग उपप्रमुख लामो समयदेखि रिक्त रहेका छन् ।

रिक्त रहेका पदमा समयमै नयाँ सरुवा गरेर पदाधिकारी पठाउन परराष्ट्र मन्त्रालयले चासो नदेखाउँदा उपनियोग प्रमुख पद खाली छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ (यूएन)का लागि नेपालको स्थायी नियोग, नयाँदिल्लीस्थित नेपाली दूतावास र बेइजिङस्थित नेपाली दूतावासमा सहसचिवस्तरीय उपनियोग प्रमुख पद रिक्त छन् ।

नेपालका दुई छिमेकी चीन र भारत तथा यूएनलाई नेपालको कूटनीतिक सम्बन्ध विस्तारको हिसाबमा महत्वपूर्ण मानिन्छ । त्यसैले ती मुलुकमा उपनियोग प्रमुखमा सहसचिव पठाइन्छ । परराष्ट्र नेतृत्वले न्युयोर्कमा उपनियोग प्रमुख पठाउन सकेको छैन ।

बहुपक्षीय सम्बन्धको बारेमा हेर्नुपर्ने स्थान न्युयोर्कमा उपनियोग प्रमुखबिना काम प्रभावकारी हुन नसकेको गुनासो छ । भारत र चीनमा पनि झन्डै ६ महिनादेखि उपनियोग प्रमुखहरुको दरबन्दी खाली छन् । बेजिङस्थित नेपाली दूतावासबाट कैशलकिशोर राय नेपाल फर्केपछि त्यहाँ पनि उपनियोग प्रमुखको पदमा नयाँ सहसचिवलाई पठाइएको छैन ।

मन्त्रालयले पटक–पटक खाली भएका मिसनमा सहसचिवलाई पठाउने भने पनि निर्णय नगर्दा अझैसम्म अल्झिएको हो । उपनियोग प्रमुखलाई डेपुटी चिफ द मिसन (डीसीएम) पनि भनिन्छ । उपनियोग प्रमुखको काम राजदूतलाई सहयोग गर्ने हो । उपप्रमुख खाली रहेका मिसनहरू नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका लागि महत्त्वपूर्ण छन् । तीन यूएनका स्थायी नियोगहरू (न्युयोर्क, जेनेभा र भियना) बाहेक नेपालको ३० मुलुकमा दूतावास छन् ।

३० दूतावास र तीन यूएन स्थायी नियोगमध्ये महत्त्वपूर्ण भानिएका चार नियोगहरूमा सहसचिव पद (पहिलो श्रेणी) कै कूटनीतिज्ञ उपनियोग प्रमुख हुन्छन् । अन्य नियोगहरूमा भने उपसचिव र शाखा अधिकृत नै उपनियोग प्रमुख छन् ।

स्थायी नियोग न्युयोर्कबाहेक भारत, अमेरिका र चीनमा रहेका नेपाली दूतावासमा उपनियोग प्रमुख सहसचिव हुन्छन् । तर नेपालका अन्य मिसनहरूमा भने सहसचिव पदमै राजदूत हुन्छन् । त्यसैले पनि यी चार नेपाली मिसनहरूलाई महत्वपूर्ण मानिन्छ ।

चारमध्ये अहिले वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा मात्र उपनियोग प्रमुख छन् ।