सुशील गैरे
कपिलवस्तु । घटना दर्ता गर्दा जनप्रतिनिधिहरु सचेत भएर आम नागरिकलाई सेवा प्रवाह गर्न सहजता प्रदान गर्न कपिलवस्तुको शिवराज नगरपालिकाले शुक्रबार घटना दर्ता सम्बन्धी जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सेवाग्राहीले कानुनी नीति नबुझी कर्मचारीसँग बाझिने गर्दा समयमै सेवा प्रवाह गर्न नसकेको बताउनुभयो। घटना दर्ताको प्रक्रियाबारे जनप्रतिनिधि सर्तक भएर सेवा प्रवाह गर्न उहाँले आग्रह गर्नुभयो ।
सेवाग्राहीले घटना दर्ता गर्न ढिलासुस्ती गर्न नहुने जनाउँदै सरकारले ताेकेको मापदण्डअनुसार सेवालिन सहजता प्रदान गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।
सानै उमेरमा हुने गरेको बाल विवाहले घटना दर्तामा एकदमै समस्या निम्ताएको बताउँदै बसाइँसराइ गर्दा समयमै निश्चित स्थानमा दर्ता गराउनुपर्ने सामाजिक तथा पञ्जिकरण शाखा प्रमुख दीपक खड्काले बताउनुभयो । घटना दर्ताबारे सेवाग्राहीलाई जनचेतना नहुँदा आधिकारिक डाटा आउन नसकेको खड्काले जानकारी दिनुभयाे ।
कार्यक्रमलाई युनिसेफ नेपालका महिला तथा बालबालिका शाखा अधिकृत प्रकाश कैनी, प्रशासकीय अधिकृत राकेश पाण्डे, सूचना अधिकारी डिल्लीराज भट्टराई लगायत जनप्रतिनिधिले सम्बोधन गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्