४ असार २०८२, बुधबार | Wed Jun 18 2025


मतदाता नामावली संकलन अनलाइनबाटै


390
Shares

बैतडी । बैतडीमा फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक कार्य सञ्चालनमा रहेको छ । यसअघि निर्वाचन कार्यालयमै सबै विवरण संकलन गरिने भएपनि हाल अनलाइनमार्फत आफैं नै भर्न सकिने व्यवस्था मिलाइएको हो ।

नागरिकता बनाएर यसअघि नामावलीमा नाम दर्ता नगराएकाहरुले अनलाइन मार्फत आफ्नो विवरण भरेर नाम दर्ता गराउनसक्ने जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ निर्वाचन आयोगको वेभसाइटमा गएर अनलाईनमार्फत आफ्नो विवरण आफैं भर्न सक्ने व्यवस्था छ । अनलाइन विवरण भरिसकेपछि आवेदन नम्बर ल्याएर निर्वाचन कार्यालयमा फोटो र फिंगर प्रिन्ट लिनुपर्छ । त्यसपछि नामावलीमा नाम दर्ता हुन्छ । ”

नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन आग्रह गरिएको छ । जिल्लामा अनलाइनमार्फत हालसम्म एकसय ६५ जनाले आफ्नो नाम दर्ता गराएका कम्प्युटर अपरेटर जोशीको भनाइ छ ।

गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि स्थगित भएको नामावली संकलन कार्य गएको माघ १७ गतेदेखि पुनः सुचारु भएको हो ।

१६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ ।

नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाण पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र, बसाइसराई गरेर आएकाहरुको हकमा बसाइसराईको प्रमाणपत्र आवश्यक पर्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
यसअघि गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा एक लाख ५० हजार एकसय ५६ मतदाता रहेका थिए ।