११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


सर्वाेच्चद्वारा रवि लामिछानेविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी


5.46k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।

रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी भएको हो ।

बुधवार निवेदक र लामिछाने पक्षका कानुन व्यवसायीहरूले पनि बहस गरेका थिए । राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल सफलले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

पौडेलले दायर गरेको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गर्नुभएकाे थियाे ।

पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत आठ व्यक्ति तथा निकायलाई विपक्षी बनाउनु भएकाे थियाे।