
काठमाडाैं । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले आजै राजीनामा बुझाएर बाहिरिएका हुन् ।
गत फागुन १५ गते नेकपा एमाले सचिवालय बैठकले संघ सरकारबाट मन्त्रीहरुले राजीनामा बुझाएर समर्थन फिर्ता लिए पनि मधेश सरकारबाट बाहिरिएको थिएन ।
एमाले मधेश प्रदेशको संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा बुझाएको जानकारी दिनुभयो । उहाँले गएराति मुख्यमन्त्री यादवले फोन गरेर आफूहरुलाई राजीनामा दिन भनेपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताउनुभयो ।
तत्कालीन गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई सरकारबाट हटाउन चाहनु भएको थियो । तर पनि बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग मिल्ने आशले एमालेका मन्त्रीहरुलाई मधेश सरकारबाट हटाएको थिएन । तर, बारा २ मा एमालेका पुरुषोत्तम पौडेलको उम्मेदवारी दर्ता भएपछि मुख्यमन्त्री यादवले सरकार छोड्न मन्त्रीहरुलाई फोन गर्नुभएको थियो ।
मधेश सरकारमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जैयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय सरकारमा सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्