Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


सुर्खेतमा ‘नमुना गाउँ’ बनाउँदा २ करोड २० लाख भ्रष्टाचार गरेकाे आराेपमा सात जनाविरुद्ध मुद्दा दायर


234
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हाे।

अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख थापाविरुद्ध ५० लाख विगो कायम गरी मुद्दा दायर गरेको छ ।

यसैगरी पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीविरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनु भयाे ।

यसैगरी लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख र नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जीएम र नमूना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमूना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ विगो कायम गरी सजायँ हुन र विगो रकम समेत जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।

नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानीकाे क्रममा भ्रष्टाचार गरेको अख्तियारकाे ठहर छ ।