Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट एक्स.बी.बी नेपालमा पनि पुष्टि


3k
Shares

काठमाडौं । छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्स.बी.बी १ दशमलव १६’ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्येश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा पिसिआर र एन्टीजेन पोजेटिभ नमुना परीक्षण गर्दा १० जनामा सो भेटियन्ट पुष्टि भएको हो ।

छिमेकी देश भारतमा पनि उक्त भाइरस फैलिरहेको हुँदा मन्त्रालयले सिमाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरुको सिमानाकाका हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ परीक्षण गरी गराई नतिजा पोजेटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नुपरेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकाले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील हुन समेत मन्त्रालयले आग्रह गरेको छ । साथै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डाको पालन गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन अनुरोध पनि गरेको छ ।