
काठमाडाैं । थ्री स्टार क्लबले छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा आज भएको मनाङ मस्र्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।
थ्री स्टार पहिलो पटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो । थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक एक गोल गरे । अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयको चौंथो मिनेटमा कप्तान बिक्रमले गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ ।
उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ । सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्