८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


एमाले सचिवालय बैठक सकियाे, के–के भयाे निर्णय ?


156
Shares

काठमाडाैं । नेकपा (एमाले)ले आगामी वैशाख १० गते हुने चिवतन क्षेत्र नम्बर २ र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनको लागि उम्मेदवार चयन गरेको छ ।

शनिवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मदवार बनाउने निर्णय गरेको हो । पार्टीको सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा दुवै जनालाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । तर, एमालेले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भने भोलि (आईतवार) सम्म उम्मेदवार तय गर्ने जनाएको छ । त्यहाँको तरल राजनीतिक अवस्थाका कारण आज र भोलिसम्म थप छलफल गरेर सो क्षेत्रमा उम्मेदवार तय गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो । त्यसका लागि आवश्यक छलफल गरेर निर्णय लिने जिम्मेवारी भने बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

प्रचार विभाग प्रमुख गुरुङले भन्नुभयो, ‘तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा हाम्रो पार्टीको तर्फबाट कमरेड सर्वेन्द्र खनाललाई पार्टीको तर्फबाट उम्मेदवार बनाएका छौं । त्यस्तै चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीको निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा कमरेड रामप्रसाद न्यौपानेलाई चितवन क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने निर्णय गरेका छौं । त्यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर २ मा आज र भोली थप छलफल गर्नुपर्ने आवश्यक्ता हामीले महशुस गरेका छौं । त्यहाँको राजनीति असाध्यै धेरै तरल भएको, उम्मेदवारहरुको बारेमा अझै छलफल गर्नुपर्ने, ठोस छलफल गर्नुपर्ने भएकाले भोलीका दिनसम्म बारा क्षेत्र नम्बर २ को उम्मेदवार तय गर्ने जिम्मेवारी पार्टीको मुख्यालयलाई दिएको छ । त्यो काम हामी भोलिसम्म सक्छौं । त्यसका लागि पार्टी अध्यक्ष केपी ओलीले त्यहाँका पार्टी इन्जार्चसहितका नेताहरुसँग बसेर सो विषयलाई टुंगो लगाउनु हुन्छ ।’

त्यसैगरी एमालेले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि ठोस, सार्थक र शिघ्र पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण समेत गराएको छ । मिटर ब्याज असुल गर्ने कामलाई अपराध ठहर्‍याउने गरी कानुनी व्यवस्था गर्न र त्यस्ता अपराध कर्ममा लागेकाहरुलाई तत्काल कडा कानूनी कारबाही गर्न पनि बैठकले सरकारसँग माग गरेको पार्टीका प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो ।

बैठकले अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसबाट लागू हुने गरी पार्टीको वार्षिक कार्यक्रम बनाउने निर्णय गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुलाई निर्देशन समेत दिएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औँ वर्ष प्रवेश हुने भएकाले सोही अवसरमा सोही दिनबाट लागू हुनेगरी पार्टीको वार्षिक कार्यक्रम बनाउनका लागि पार्टी सचिवालय र स्थायी कमिटीमा सदस्यहरुलाई सुझाव दिन पनि बैठकले निर्देशन दिएको एमालेले जनाएको छ ।