२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


दुई महिनादेखि प्रमुखविहीन बारा मालपोत कार्यालय


208
Shares

काठमाडौं । हरेक सरकारले नागरिकलाई चुस्त, दुरुस्त सेवा दिने प्रतिवद्धता जनाउँछन् । तर, व्यवहारमा भने शुभलाभ बिना वरको सिन्को पर सार्ने जागर सरकारी कर्मचारीमा देखिंदैन । प्रत्यक्ष सेवा दिने दायित्व बोकेका सरकारी डेस्क त झन बदनाम छन् । बाराको मालपोत कार्यालय यस्तै, प्रतिनिधिमूलक संस्था बन्न पुगेको छ ।

नेपालमा धेरै प्रशासनिक र जनताका काम घरजग्गासँग जोडिएका हुन्छन् । तर दुई महिना भयो– बारा मालपोत कार्यालयमा प्रमुख छैनन् । निमित्तका भरमा कार्यालय रहँदा प्रमुखले गर्नुपर्ने कामको अधिकार निमित्तलाई हुँदैन । यसले गर्दा सेवाग्राहीले सास्ती पाउने क्रम दिनप्रतिदिन बढेको छ । हाकिम नहुँदा सेवाग्राहीको काम मात्र प्रभावित भएको छैन, कार्यालयको रुपरंग पनि उँडेको छ ।

हाम्रो टिम कार्यालयम पुग्दा गुनासो पोख्नेहरुको भीड नै लागेको थियो । प्रमुख नै नभएपछि कतिपय कर्मचारी त कार्यालय आएर हाजिर गरी हिँड्ने गरेको र भएका कर्मचारी पैसाबिना कलम चोप्ने नगरेको गुनासो सेवाग्राहीले गरेका छन् । दुई महिनादेखि बारा मालपोत कार्यालयमा हाकिम नआएको सेवाग्राही बताउछन् ।

मुलुक संघीयतामा गएपछि गाउँ गाउँमा सिंहदबार पुगेको भन्ने राजनीतिक नेतृत्वको ढाड्स मिथ्या सावित बन्दै गएको छ । शासनप्रणालीप्रति जनताको गुनासो घट्नु साटो झन्झन् यत्र, तत्र, सर्वत्र बढ्दै गएको छ । सरकारी कामलाई प्रक्रियामुखी नभएर परिणाममुखी बनाउन सकेको खण्डमा मात्र जनताको अपेक्षा पूरा हुन सक्छ ।