Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


मेलम्ची खानेपानीको नयाँ पाइपको परीक्षण जारी, असारभित्र पानी वितरणको तयारी


247
Shares

काठमाडौं । मेचम्ची खानेपानी वितरणका लागि बिछ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीको परीक्षण सकिएको छ ।

एक हजार १० किलोमिटर पाइपमध्ये हालसम्म पाँच सय ७६ किलोमिटर परीक्षण सकिएको छ । बाँकीको परीक्षण भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

आगामी असार सम्ममा सबै पाइपको परीक्षण सक्ने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर, कलंकी-बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

स्वयम्भू, बालुवाटारलगायतका कतिपय स्थानमा पाइप बिछ्याउन नै बाँकी छ । गत महिना काठमाडौं उपत्यकाका धेरै स्थानमा पाइप फुट्ने समस्या देखिएपछि हाल परीक्षणपछि उक्त समस्या कम भएको कार्यालयको दाबी छ ।

परीक्षण भइसकेका स्थानमा नयाँ पाइपबाट पठाइएको र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको ठाउँमा तत्काल मर्मत गरिरहेकाले चुहावटमा कमी आएको उहाँले बताउनुभयो । चक्रपथ भित्र एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ बाट पाइप बिछ्याउन सुरु गरिएको थियो ।

हाल मेलम्चीको पानी वितरणका लागि १० वटा रिजर्भ ट्यांकी सञ्चालनका लागि तयार रहेको निर्देशनालयको भनाइ छ । जसमध्ये केही ट्यांकी सञ्चालनमा आइसकेका छन् भने नयाँ पाइप प्रयोग भएपछि सबै ट्यांकी सञ्चालनमा आउने बताइएको छ । हाल कार्यालयले घरघरमा वितरणका लागि पोलिथिन पाइप र मुख्य पाइपमा जिआइ पाइप प्रयोग गरेको छ ।

एक हजार ५ सयदेखि एक हजार ६ सय घरलाई एउटा क्षेत्र बनाइएको छ ।