Logo १२ कार्तिक २०८२, बुधबार | Thu Oct 30 2025


एमाले एक्लैले ५१ प्रतिशत बहुमत सिट जित्न ‘मिसन ग्रासरूट अभियान संचालन: अध्यक्ष ओली


117
Shares

सुशील गैरे

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले ५१ प्रतिशत बहुमत सिट जित्ने गरी पार्टीले ‘मिसन ग्रासरूट’ अभियान संचालन गरेकाे बताउनुभयो।

मिसन ग्रासरुट अभियान अन्तर्गत एमाले कपिलवस्तु जिल्लाको आयोजनामा सम्पन्न भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । एमालेप्रति चौतर्फी घेराबन्दी भएको बताउँदै उहाँले आफूहरुबिना हतियारको एउटा ठूलो लडाई लडिरहेको बताउनुभयाे । यो लडाई समृद्धि र विकासका लागि लडिएको लडाई भएकाे उहाँकाे तर्क छ ।

उहाँले भन्नुभयो,– ‘किताब र काजगमा लेखेको अधिकार दिएर होइन व्यवहारमा अधिकार नागरिकलाई हामी दिन चाहान्छौँ ।’ सामाजिक न्याय – समानतासहितको समाज, विकास, समृद्धि हासिल गरिएको समाज, विकास र समृद्धिसहितको समाज निमार्ण गर्न चाहेको उहाँकाे भनाइ थियाे ।

उहाँले आफू प्रधानमन्त्री हुँदा बनेको एमाले सरकारको ध्यान देशको विकासका लागि खर्च भएको पनि बताउनुभयाे । अध्यक्ष ओलीले सरकारका तर्फबाट कपिलवस्तुको तौलिहवादेखि कृष्णनगर जाने सडक एक लेनको बन्दै गरेको र त्यसलाई रोकेर २ लेनको बनाउन भनेको पनि बताउनुभयो ।

उहाँले नागरिकलाई समान अधिकार र सामाजिक न्यायसहितको समानता चाहेको बताउनुभयाे । समाजलाई सदाचारयुक्त, शुसासनयुक्त समाज निमार्ण गर्दै देशको स्वाधिनता, स्वतन्त्रता, भूमिको रक्षा गर्न, देशको स्वाभिमान, गौरव बढाउन र बलियो राष्ट्र बनाउन नेपाली जनताको पार्टी एमालेको बलियो संगठन आवश्यक रहेको समेत उहाँकाे भनाइ थियाे ।

पार्टीका कार्यकर्तालाई स्वार्थमा केन्द्रित नभई, समाजको नमूना योग्य र आदर्श नागरिक बन्न समेत उहाँले आग्रह गर्नुभयाे । पार्टीको उद्देश्य प्राप्ति गर्ने काममा लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेपछि उहाँले बाणगंगा नगरपालिका-९ भलवाडमा रहेको कपिल आरोग्य मन्दिर कपिलधामको समेत स्थलगत अवलोकन गर्नुभएको थियो ।