Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


आज घोडेजात्रा पर्व मनाइँदै

'उपत्यकामा सार्वजनिक बिदा'

1.7k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार घोडेजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने चलन छ ।

उपत्यकाका नेवार समुदायले आजको दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउने गर्दछन् ।

मंगलबार टुँडिखेलमा नेपाली सेनाले विशेष कौशल देखाउनेछ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको उपस्थितीमा सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडेजात्रा समारोह आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समारोहमा अश्वकलाअन्तर्गत दुई चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिने छ ।

ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाइने गरिन्छ ।

प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिकालाई दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतिक घोडालाई दौडाउने गरिएको किम्वदन्ती छ ।

अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो ।

घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक बिदा दिएको छ ।