
काठमाडौं, भदौ १६ । पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बिमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भए पनि यसबाट नेपालले फाईदा लिन नसकेको उनको भनाइ छ ।
बिमस्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाईदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको उनले बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले व्यापार, लगानी, पर्यटन र पारवहनको क्षेत्रमा बिमस्टेक राष्ट्रहरुले समन्वय गर्नुपर्नेमा जोड दिए । उनले नेपालले बिमस्टेक राष्ट्रहरुसँग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिए । ग्रिड कनेक्टिभिटीमा सम्झौता भए पनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको उनले गुनासो गरे ।
ग्रिड कनेक्टिभिटी सम्झौता कार्यान्वनय हुने हो भने नेपालमा विद्युत उत्पादन गरेर अरु देशमा बेच्न सकिने भएकाले यसका लागि नेपालले नै प्रभावकारी भूमिका खेल्नुपर्ने महतले बताए ।
बिमस्टेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाइ छ । ‘म्यानमार–थाइल्याण्ड जोड्ने रेलवे र सडकमार्ग बन्ने हो भने बौद्ध धर्मावलम्वीहरुलाई लुम्बिनी ल्याउन सकिन्छ । पर्यटनसँग सम्बन्धित अरु धेरै कार्यक्रम गर्न सकिन्छ,’ उनले भने ।
नेपालमा रेल ल्याउने योजना राम्रो भएपनि यसका लागि नेपालसँग पुँजी नभएको भन्दै भारत वा चीन जहाँबाट रेलमार्ग बनाए पनि त्यही देशले बनाइदिनुपर्ने उनको भनाइ छ ।
अहिलेको सरकारले स्पष्ट परराष्ट्र नीति बनाउन नसकेको महतको आरोप छ । ‘सत्तारुढ दल नेकपा सरकारबाहिर हुँदा एकथरी र सरकारमा हुँदा अर्कोथरी कुरा गर्छ,’ उनले भने, ‘यसरी परराष्ट्र नीति राम्रो हुँदैन ।’
बिमस्टेकमा आएका केही पाहुनाहरुले आफ्नै देशका सुरक्षाकर्मी ल्याउनु दुःखद् भएको भन्दै उनले नेपाल सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन नसकेको बताए । नेपालको सुरक्षा व्यवस्था सक्षम भए पनि सरकारले अन्तर्राष्ट्रिय रुपमा विश्वास दिलाउन नसकेको उनको जिकिर छ ।
फरक प्रसंगमा उनले कांग्रेसमा पार्टी सभापतिलाई दिने अधिकारको विषयमा बहस भएको बताए । केन्द्रीय समिति र महासमिति बैठकमा सभापतिको क्षेत्राधिकारको विषयमा वृहत्त छलफल गरिने महतले बताए ।
पार्टीभित्रको गुट उपगुटलाई कार्यकर्ताले स्वीकार गर्न नसक्ने भन्दै उनले यस विषयमा नेताहरु सचेत हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्